धरान : त्रिभुवन विश्वविद्यालयका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसहरूमा मङ्गलवार स्ववियु निर्वाचनको मतदान शान्तिपूर्वक सम्पन्न भएको छ ।
महेन्द्र क्याम्पसका निर्वाचन अधिकृत लक्ष्मीकृष्ण श्रेष्ठका अनुसार अहिले सवा ५ बजेर सम्मको समयमा कुल २१ सय ५०मत खसेको छ । कुल मतदाता सङ्ख्या ४ हजार २ जना रहेकोमा मतदान ५३ दशमलब.७२ प्रतिशत रहेको उनले बताए ।
निर्वाचन स्थलमा ६ वटा मतदान केन्द्र रहेको थियो । महेन्द्र क्याम्पसमा नेविसंघ र अनेरास्ववियुको गठबन्धनबाट सभापतिमा नेबि सङ्घका प्रशान्त राई, अनेरास्ववियु क्रान्तिकारीको तेजबहादुर दुमी, समाजवादी विद्यार्थीका युवराज राई अलौकिक, अनेरास्ववियु क्रान्तिकारी मोहन वैद्य किरणबाट अमृता राई उम्मेदवार रहेका छन् ।
केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारका निर्वाचन अधिकृत राम शोभित यादवका अनुसार ४ बजे सम्म भएको मतदानमा ७ सय ८५ मत खसेको छ । कुल मतदाता सङ्ख्या ९६२ रहेको खसेको मत ८१ प्रतिशत रहेको छ ।
क्याम्पसमा नेविसंघ र अनेरास्ववियुको गठबन्धनबाट अनिरुद्ध श्रेष्ठ (कृश) सभापति पदको उम्मेदवार रहेका छन् ।
अनेरास्ववियु क्रान्तिकारी र स्वतन्त्र समूह गठबन्धनका स्वतन्त्र समूहको पेशल राज कार्की सभापतिको उम्मेदवार छन् ।
पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका निर्वाचन अधिकृत विनयलाल श्रेष्ठले ४ बजे भित्र क्याम्पस परिसर छिरेका मतदानहरूले मतदान गरिरहेका छन् । हालसम्म १९८० सय मत खसेको छ ।
उक्त मतदान ८३.दशमलब ८२ प्रतिशत रहेको उनले बताए । क्याम्पसमा कुल मतदाता सङ्ख्या २ हजार ३६२ रहेका छन् । क्याम्पसमा नेविसंघबाट सागर बस्याल, अनेरास्ववियु क्रान्तिकारीका करण मगर, अनेरास्ववियुको ईश्वर बन्जाडे, समाजवादी विद्यार्थीबाट गणपति झा, स्वतन्त्र विद्यार्थी समूहको सविन धिताल सभापतिका उम्मेदवार छन् ।