धरान : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रसूति गराउन ल्याइएकी महिलाको शल्यक्रिया गर्दा जम्ल्याहा बच्चा एउटा गर्भमै र अर्को जन्मिए पछि मृत्यु भएको घट्नाबारे छानबिन हुने भएको छ ।
धरान-१५ कृष्णपथकी ३० वर्षीय सबिना श्रेष्ठलाई प्रसूति गराउन शुक्रवार वीपीको स्त्री तथा प्रसूति रोग विभागमा भर्ना गरिएको थियो । उनको गर्भमा जम्ल्याहा बच्चा थियो ।

उनको शनिवार शल्यक्रिया गर्दा एउटा बच्चा गर्भमै र अर्को जन्मिए लगत्तै मृत्यु भएपछि परिवार र आफन्तहरू चिकित्सकको लापरबाहीको कारण बच्चाको मृत्यु भएको आरोप लगाउँदै आक्रोशित भए ।
प्रहरी अनुसार उनीहरूले डाक्टरको लापरबाहीले बच्चा मृत्यु भएको भन्दै अप्रेसन थिएटर अगाडी होहल्ला गरे ।
शल्यक्रियामा संलग्न चिकित्सकहरूले गर्भमा रहेको जम्ल्याहा बच्चा मध्ये एउटाको शनिवार दिउँसो गर्भमै मृत्यु भएको र एउटाको मुटुको धड्कन कम भएको बताएका थिए । अर्को बच्चा जीवितै हुन सक्ने भनी शल्यक्रिया गर्दा दुवै बच्चा मृत पाइएको उनीहरूको भनाई छ ।
आक्रोशित परिवारजन र अस्पताल प्रशासनका डाईरेक्टर जगत् नारायण प्रसादको बिच आइतबार घट्नाबारे भएको छलफलमा बच्चाको मृत्युका बारेमा छानबिन गर्न ४ बुँदे सहमति भएको छ ।
सहमति अनुसार जम्ल्याहा बच्चाकी आमा सबिना प्रधान र बुवा विक्रम श्रेष्ठको वीपी प्रतिष्ठानले आजीवन उपचार सुविधा प्रदान गर्नेछ । अहिले सम्म भएको उपचारको सम्पूर्ण उपचारमा खर्च प्रतिष्ठानले व्यहोर्ने सहमति भएको अस्पताल डाईरेक्टर प्रसादले बताए ।
साथै डा. सिद्धार्थ कोईरालाको संयोजकत्वमा पीडित पक्ष सहित ९ सदस्यीय छानबिन समिति गठन गरिएको छ ।
समितिमा सर्जरी विभागका डा.अभिजित कुमार, स्त्री तथा प्रसूति रोग विभाग, बालरोग विभाग, नर्सिङ विभागकी मेट्रोन र पीडित पक्षका प्रेमकुमार श्रेष्ठ, मैयादेवी श्रेष्ठ, सुन्दर श्रेष्ठ र ललित श्रेष्ठ रहेको प्रतिष्ठानले जनाएको छ ।