इटहरी : नेपाली काँग्रेस गणतन्त्र र सङ्घीयताप्रति एक इन्चपनि दायाँबायाँ नहुने महामन्त्री गगन थापाले बताएका छन् । सुनसरीको इनरुवामा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रजातन्त्र र निरङ्कुश राजतन्त्र सँगै जान नसक्ने बताए ।

संविधान भित्र रहेर जनताको अपेक्षा पुरा गर्न सकिने बताउँदै उनले सुशासनको प्रत्याभूति दिलाउन सरकार अग्रसर हुनुपर्ने धारणा राखे । काँग्रेसकै कारण सङ्घीयता र गणतन्त्र आएको स्मरण गराउँदै गणतन्त्रको पक्षमा बोल्दा आफूले राजद्रोहको मुद्दा लागेको अनुभव सुनाए ।

महामन्त्री थापाले भने, ‘नेपाली काँग्रेस विभाजन हुँदा नेपाली काँग्रेस र काँग्रेस प्रजातान्त्रिक दुई पार्टी भयो । गिरिजा प्रसाद कोइराला नेतृत्वको नेपाली काँग्रेसले काठमाण्डौमा मात्र विकास भयो अब विकेन्द्रीकरणमा जानुपर्ने भन्दै प्रदेशको अवधारणा विकास गर्‍यो । शेरबहादुर देउवा नेतृत्वको काँग्रेस प्रजातान्त्रिकले नेपाललाई सङ्घीयतामा लैजाने निर्णय गरेको हो । त्यसैले सङ्घीयता काँग्रेसको अवधारणा हो । यो सही ढङ्गले चलेको छैन तर चलाउन सकिन्छ । त्यसमा काँग्रेस दृढ संकल्पीत छ ।’

काँग्रेसका जनप्रतिनिधिले गरेका कामको सहित प्रचार गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् । काम मात्र गरेर नहुने बताउँदै उनले प्रचार पनि ध्यान दिनुपर्ने बताए । थप स्पष्ट पार्दै उनले भने, ‘ठिक ढंंगले प्रचार गर्न सकिएन भने कामको बारेमा जनताले थाहा पाउँदैनन् । त्यसको घाटा पार्टीलाई पर्ने भएकाले प्रचारमा ध्यान दिनुपर्छ । जनप्रतिनिधिले आफ्नो क्षमता र बाध्यताको बारेमा पार्टीमा संवाद गर्न जरुरी छ । संवाद र छलफलले मात्र सङ्गठन मजबुत हुन्छ ।’