धरान : धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले हङकङ नजानुको मुख्य कारण ‘रोजगार भिषा’ देखाए तापनि खास कारण अर्के भएको आशङ्का गरिएको छ ।
उनको हङकङ जानुको मुख्य उद्देश्य ‘सुन्नीमा पारुहाङको प्रतिमा’ निर्माणको लागि ‘फण्ड राइजिङ’ अर्थात् आर्थिक सङ्कलन थियो । यसअघि उनी युके जाँदा सङ्कलन भएका कतिपय रकम धरान युके मञ्चले हुण्डी वा व्यक्तिगत खाता मार्फत रकम पठाएको थियो ।
यसपालि हङकङमा सङ्कलन हुने रकम भने किरात राई यायोक्खा हङकङले बैङ्किङ कारोबारबाट मात्र पठाउने भएको थियो । त्यही कारण नगर प्रमुख साम्पाङ हङकङ नगएको आशङ्का गरिएको हो ।
किरात राई यायोक्खा हङकङले अप्रिल २१ तारिख वैशाख ८ गते पत्रकार सम्मेलन गरी कार्यक्रमको जानकारी सहित सङ्कलित रकम धरानमा ‘सुन्नीमा पारुहाङ प्रतिमा निर्माण’ सम्बन्धी बैङ्क खाता खोलेपछि मात्र बैङ्कमा पठाउने जनाएको थियो ।
हङकङमा पत्रकार सम्मेलन गरी बैङ्किङ कारोबार मार्फत मात्र पैसा पठाउने जानकारी गराएको छैटौँ दिन नगर प्रमुख साम्पाङले अप्रिल २७ तारिख वैशाख १४ गते 'गलत भिजा लगाइदिएको कारण हङकङको यसपालिको मेरो यात्रा स्थगित होला जस्तो छ जय मान्छे', भन्दै फेसबुकमा स्ट्याटस लेखेका थिए ।
किरात यायोक्खा हङकङको अप्रिल २१ मा भएको पत्रकार सम्मेलनमा सुन्नीमा पारुहाङ प्रतिमा निर्माण सहयोग सङ्कलन अभियान 'मिट एण्ड ग्रिट हर्क साम्पाङ' को पत्रकार भेटघाट कार्यक्रमका मूल संयोजक शशीमदन राईले मे ५ देखी ८ सम्म हङकङको विभिन्न ठाउँमा नगर प्रमुख साम्पाङको कार्यक्रम रहेको जानकारी दिएका थिए ।
संयोजक राईले प्रमुख साम्पाङ सँग भेटभाटको कार्यक्रममा हङकङमा रहेका नेपालीले बोल कबोल गरेको रकम ६ महिना अर्थात् २०२५ अक्टोबर ३१ सम्म किरात राई यायोक्खा हङकङको बैङ्क खातामा सङ्कलन हुने बताएका थिए ।
उक्त रकम धरानमा सुन्नीमा पारुहाङ प्रतिमा निर्माण समितिले बैङ्क खाता खोलेपछि आधिकारिकता प्रमाणित भएपछि यायोक्खाको खातामा रहेको रकम धरानको बैङ्क खातामा पठाउने बताएका थिए ।
संयोजक राईले बैङ्किङ कारोबार बाहेक उठेको रकम हुन्डी मार्फत र व्यक्तिगत खातामा रकम नपठाउने बताएका थिए ।
किराया हङकङले नगर प्रमुख साम्पाङले सुन्नीमा पारुहाङलाई आर्थिक सहयोग जुटाउनका लागि पठाएको पत्रलाई स्वीकार गर्दै पत्रको आधारमा समिति गठन गरेको पत्रकार सम्मेलनमा बताइएको थियो ।
गठित समितिले प्रमुख साम्पाङ सँग पत्राचार गरेको र कार्यक्रम आयोजना गर्ने मिति समेत तय गरी पटक पटक साम्पाङ सँग फोन र व्हाटस्एपमा सम्पर्क गर्दा आयोजक संस्था र किराया हङकङसँग साम्पाङ सम्पर्कमा नआएको पत्रकारहरूलाई जनकारी गराइएको थियो ।
पत्रकार सम्मेलनमा संयोजक राईले ‘कम्युनिकेशन नभएकोले मिस अन्डरस्टाण्डिङ भएको’ तर नगरप्रमुख साम्पाङ हङकङ आउने कन्फर्म भएको बताएका थिए ।
किराया हङकङका एक प्रतिनिधिले भने ‘नगरप्रमुख साम्पाङ हङकङ नजानुको मुख्य कारण हुन्डी मार्फत र व्यक्तिगत खातामा रकम नपठाई बैङ्क मार्फत रकम पठाउने भएकाले नै हो ।’
यसअघि धरान युके मञ्चले भने हुण्डी वा व्यक्तिगत खातामा रकम जम्मा गरेको थियो । हङकङले पनि त्यसरी नै कारोबार गर्छ होला भन्ने सोच बनाएकोमा त्यसो नभएकाले साम्पाङ हङकङ नआएका हुनसक्ने उनले बताए ।
प्रमुख साम्पाङलाई हङकङमा रहेका नेपालीहरूको एस अफ स्पेडस इन्टरटेनमेन्टले मे ३ र ४ तारिख गर्ने ‘नेपाल फेस्ट २०२५’ सांस्कृतिक तथा साङ्गीतिक कार्यक्रममा रकम सङ्कलन गर्न बोलाएको थियो ।
सामाजिक संस्था हिन्सले फेसबुक मार्फत उनको यात्रा निश्चित भएको जनाउँदै नगरप्रमुख साम्पाङको ४ जनाको टोली सहित ८० जना कलाकारहरूको टोलीलाई एकमुस्ट ‘रोजगार भिषा’ लागेको जानकारी दिएको थियो ।
तर नगरप्रमुख साम्पाङ कामदार भिसाको कारण देखाउँदै हङकङ गएनन् । हिन्सले हङकङमा हुने सबै खालका कार्यक्रमको लागि कानुनी रूपमा इम्प्लोइमेन्ट भिषा लिनुपर्ने स्पष्ट गरेको छ । अन्य भिषा लगाए हङकङको अध्यागमन विभागले गैर कानुनी ठहर गर्ने बताएको छ ।
प्रमुख साम्पाङ कार्यक्रमबाट सङ्कलित रकम लिएर नेपाल फर्कने भएकाले पनि ईम्पोलोर्ईमेन्ट भिषा लगाइएको थियो तर सोही भिसालाई अपमान भएको बताउँदै साम्पाङ हङकङ नगएका हुन । साम्पाङ आफूलाई 'श्रम पिता' भन्न रुचाउँछन् ।