धरान : नेवार समुदायको सांस्कृतिक पर्व, गाईजात्रालाई युवा पुस्ता सम्म पुर्‍याउन धरान वडा ३ कार्यालयले तीन दिने चन्द्रपुर जात्रा उत्सवको आयोजना गर्ने भएको छ ।

साउन ३० देखी भदौ १ गते सम्म हुने उत्सवको मुख्य उद्देश्य गाईजात्रालाई नेवार समुदायको युवा पुस्तासम्म पुर्‍याउने, जात्रा पर्व संस्थागत मनाउने रहेको बुधवार पत्रकार सम्मेलनमा वडाध्यक्ष विद्या शाक्यले बताए ।

वडावासी अन्य जाति समुदायको सांस्कृतिक पर्वलाई पनि उत्तिकै महत्त्व दिएर वडामा मनाइने उनले बताए । 

राणा प्रधानमन्त्री चन्द्र शमशेरले बसाएको धरानको चन्द्रपुर बजार पछिल्लो समय पुरानो बजारको नामले प्रसिद्ध छ । चन्द्रपुर बजारको ऐतिहासिकतालाई उजागर गर्न पनि उत्सवको उद्देश्य रहेको वडाध्यक्ष शाक्यले बताए ।

उत्सव मनाउन गठन गरिएको चन्द्रपुर जात्रा समितिको संयोजक नेवा: देय दबु केन्द्रीय उपाध्यक्ष अनिल मास्के रहेका छन् । उनले विगतमा जात्रालाई आर्थिक कारण र सांस्कृतिक अभियन्ता पलायन भएकाले निरन्तरता दिन नसकिएको बताए ।

वडाका युवा पुस्ताबिच छलफल भएपछि यसलाई निरन्तरता दिन वडाको आयोजना गर्न लागिएको उनको भनाई थियो । उत्सव पहिलो दिन धिमे बाजा प्रतियोगिता, दोस्रो दिन कृष्ण जन्माष्टमी, बृहत् लाखे प्रदर्शनीसँगै अन्य जातीय सांस्कृतिक प्रदर्शनी हुनेछ ।

अन्तिम दिन सांस्कृतिक झाँकी सहितको कृष्ण रथयात्रा आयोजना गरिएपछि सोही दिन राति लाखे नाचलाई समापन समापन गरिने संयोजक मास्केले जानकारी दिए । यसैबिच नेपाल खड्गी सेवा समितिले साउन २५ देखि २९ सम्म गाइजात्रा मनाउने जानकारी दिएको छ।