धरान : धरानमा संविधान दिवसको दिन आज शुक्रवार संविधान रक्षाको माग गर्दै सर्वपक्षीय सद्भाव र्‍यालीले जेनजी आन्दोलनका शहिदहरुप्रति श्रद्धाञ्जली प्रकट गरेको छ।
सर्वपक्षीय नागरिक बचाउ अभियान धरानद्वारा आयोजित सद्भाव र्‍यालीलाई जेनजीहरुले सम्बोधन गरे । र्‍याली पुरानो हस्पिटल छाता चोक देखि सुरु भई भानुचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
र्‍यालीमा समृद्ध नेपालको लागि संविधानको रक्षा गरौँ, विविधता हाम्रो शक्ति धरान हाम्रो पहिचान, सामाजिक सद्भाव सह अस्तित्व र भाइचारा कायम राखौँ, सहिदको सपना साकर पार्दै घाइतेको उपचारको ग्यारेन्टी गर, समावेशी सोच समृद्ध धरान, सबै धर्म संस्कृति र जात एक धरान, राम्रो धरान हाम्रो धरान, संविधान दिवस भव्यता साथ मनाऔँ नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो ।
कोणसभामा महेन्द्र क्याम्पसका जेनजी विद्यार्थी रबिन श्रेष्ठले जेनजी आन्दोलन सम्पन्न भएपछि धरानमा भएको तोडफोड र आगलागीको घटनाका मुख्य दोषी धरानका नगरप्रमुख हर्क साम्पाङका कार्यकर्ता भएको बताए ।
श्रेष्ठले भने ‘हर्क साम्पाङले नैतिकताको आधारमा नगरप्रमुखबाट राजीनामा दिनुपर्छ ।’ नगरप्रमुखले धरानमा भएको तोडफोड र आगलागीको सम्पूर्ण जिम्मा लिनुपर्ने उनले बताए ।
महिला सञ्जाल धरानकी सचिव ईन्द्रकला राईले संविधानको रक्षा हुनुपर्ने बताउँदै बाउ बाजेको सङ्घर्ष, बलिदानबाट राणा शासन, पञ्चायत शासन, राजतन्त्रको अन्त्य गरी ल्याएको संविधान जोगाउनु जेनजी पुस्ताको दायित्व भएको बताइन् । उनले भनिन् ‘सहिदहरूको बलिदानलाई सार्थकतामा परिणत गर्दै सङ्घीयता र गणतन्त्रलाई बलियो बनाउनु पर्छ ।’
सुनसरी उद्योग वाणिज्य सङ्घ सुनसरीका सदस्य, युवा व्यवसायी विष्णु बरालले संविधानको रक्षा नै मुलुकमा स्थिरता र समृद्धिको मुख्य आधार भएको बताए ।
उनले जेनजीको नाममा धरानको व्यापार व्यवसायमा भएको आक्रमणको भर्त्सना गर्दै धरानको आर्थिक तरलता अभिवृद्धि गर्न व्यवसायमा भएको ठुलो क्षतिले उद्योग व्यवसायमा नकारात्मक असर परेको बताए ।
बरालले भने ‘धरानमा आर्थिक मन्दीले व्यापार व्यवसाय ढुलमुल भएको अवस्थामा भाटभटेनिले हजारौँ जनतालाई रोजगार र व्यापार व्यवसायमा फड्को मारेको थियो ।’ भाटभटेनीमा आगजनी गरी ध्वस्त बनाएपछि धरानको व्यापार गिरावट आउने उनको भनाई थियो ।
अर्बौँको लगानी चलेको भाटभटेनी आगोले ध्वस्त हुँदा त्यहाँ लुटपाट गर्न पसेका ४ जनाको शव जले बचेको अवशेष मात्र फेला परेको छ । उनीहरूलाई भित्रै थुनेर अराजक समूहले बाहिरबाट आगजनी गरेका थिए ।
sambidhan-diwas