धरान : बौद्ध धर्ममा १२ सय वर्ष देखी परम्परागत रूपमा चलिआएको गुरु रिन्पोछे लीला, विश्व शान्ति पूजामा सहभागी हुन मङ्सिर १४ गते ऊर्जा तथा जलश्रोत मन्त्री कुलमान घिसिङ धरान आउने भएका छन् ।
बौद्ध धार्मिक पूजा धरान–१५, श्याम चौक स्थित ङाग्युर त्रीङ्मा ड्युङने ल्हाखाङ गुम्बामा आयोजना हुँदैछ । गुम्बाले आइतबार पत्रकार सम्मेलन गर्दै पूजामा सहभागी हुन मन्त्री घिसिङ आउने जानकारी दिएको हो ।
गुम्बामा मङ्सिर ९ देखि १९ गतेसम्म विविध धार्मिक अनुष्ठान आयोजना गरिएको छ । गुम्बाका अध्यक्ष थिङका अनुसार मङ्सिर १३ र १४ गते गुरु छेन्गे छयाम नृत्य लीला प्रदर्शन हुनेछ । १४ गते उद्घाटन समारोहमा मन्त्री घिसिङ सहभागी हुनेछन् ।
पहिलो दिन बिहान शान्ति र्यालीले बजार परिक्रमा गर्नेछ । गुम्बाबाट बरगाछी हुँदै छाता चौक, माछाभौडी हुँदै पुन गुम्बामा पुगेर अपराह्न रिन्पोछे गरिने छ । मङ्सिर १० देखि १२गते सम्म धार्मिक साधना १० करोड बज्र गुरु जप हुनेछ ।
मङ्सिर १३ देखि १४ गते गुरु छेन्गे छ्याम नृत्य लीला उद्घाटन तथा प्रस्तुति हुनेछ । १५ गते ज्यासा रिन्पोछेबाट छेवाङ आयु अभिषेक हुनेछ । १६ देखि १८ गते ङ्युङ्ने मौन व्रत, १९ गते जिन्सेक होम पूजासँगै समापन हुनेछ ।
थिङले भने ‘पूजामा देश–विदेशबाट बौद्ध धर्मावलम्बी, लामा गुरुहरू र करिब १० हजार भक्तजनहरू सहभागी हुने अपेक्षा गरिएको छ ।’ धार्मिक अनुष्ठानले धरानको बौद्ध सांस्कृतिक पहिचान र धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा दिने उनको भनाई छ ।


































































