धरान : धार्मिक कार्यक्रममा गुरुहरूबाट प्रवचन दिइने गरिन्छ, बिच बिचमा भजन भए श्रवण गर्न बसेका अनुयायीहरू प्रभावित भएर नाच्न सक्छन् । यसपालि बौद्ध धार्मिक गुरुबाट प्रवचन, भजन मात्र होइन नृत्य लीला नै प्रदर्शन हुने भएको छ ।

धरान-१५ स्थित डाग्युर बिना ड्युड्ने ल्हाखाङ गुम्बामा हुने १२ दिने धार्मिक उत्सवमा पहिलो पटक गुरु रिन्पोछेबाट नृत्य लीला प्रदर्शन हुने भएको हो । शुक्रवार आयोजित पत्रकार सम्मेलन फागुन १ गते देखि १२ गते सम्म धार्मिक उत्सव हुने बताइएको छ ।

ऐतिहासिक बाजा झ्यामटाको तालमा विभिन्न थरिथरिका देवताहरूको रूपमा सजिएर लामाको छ्याम नृत्य प्रदर्शन गरिने गुम्बा अध्यक्ष लोक बहादुर थिङले बताए ।

गुम्बा प्रमुख राजेन्द्र लामाका अनुसार पहिलो दिन शान्ति र्‍याली हुनेछ । दोस्रो दिनबाट आठौँ रिन्पोछे स्वागत, करोड बज्र गुरु जप, गुरु छेन्गे छ्याम नृत्य, टाप्चे बुद्ध धर्म सामूहिक सम्मान, रिन्पोछेबाट विशेष आयुको अभिषेक र ड्युङने व्रत गरी समापन हुनेछ ।

इतिहास अनुसार तिब्बत राज्यको भोटमा साम्य गुम्बा विहार निर्माण गर्दा सर्वप्रथम गुरु रिन्पोछेले प्रथम दोर्जे गिङताक नामक नृत्य प्रदर्शन गरेका थिए । त्यस नृत्यलाई बौद्ध धर्मावलम्बीहरूको छ्याम नृत्य भन्ने गर्दछन् ।

लामाहरूको नृत्यकला प्रदर्शनमा शरीरको मुद्रा भन्दा हात र खुट्टाको मुद्रा बढी उपयोग हुन्छ । गुरु पद्म सम्भवबाट खोटाङ हलेसी, सङ्खुवासभाको खम्पालुङ, फर्पिङ, मुस्ताङको मुक्तिनाथ, भारतको सिक्किम, हिमालयको छोपेमा र भुटानमा तीर्थमा साधना गरेका थिए । उनले साधना गर्दा गुरु रिन्पोछेको रूप लिएर १२०० वर्ष अघि छ्याम नृत्य गरेका थिए ।

छ्याम नृत्य बौद्ध धर्मको सबैभन्दा पुरानो लोकप्रिय लामा नृत्य हो । यो नृत्यलाई विश्वको गुम्बाहरूमा थोरै गुम्बाहरूले मात्र गर्न सक्छ । नेपालको पूर्वाञ्चलमा पहिलो पटक आयोजना हुने भएकोले यो ऐतिहासिक हुने गुम्बा प्रमुख राजेन्द्र लामाले बताए ।