धरान : तत्कालीन प्रमुख हर्क साम्पाङले कानुन विपरीतको निर्णय प्रमाणीकरणमा हस्ताक्षर गर्न लगाउँदा अस्वीकार गरेपछि जिम्मेवार विहीन बनाइएकी धरान उपमहानगरपालिकाकी प्रशासन महाशाखा प्रमुख प्रज्ञादेवी निरौलाले आफूलाई महिला भएकै कारण लिङ्ग विभेद गरी फेरी थप अन्यायपूर्ण कारबाही गरिएको बताएकी छन् ।
उनलाई आइतबार कावा प्रमुख अइन्द्रविक्रम बेघाको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले कार्यालयभित्र प्रवेश गरी तोडफोड गरेको, प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौँलागाँइको झूटो रमाना बनाएको र प्रशासन महाशाखा प्रमुख वेदप्रसाद सापकोटाको नेमप्लेट फ्याँकेको आरोपमा कारबाही स्वरूप मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कोशी प्रदेश, विराटनगरमा फिर्ता पठाउने निर्णय गरेको छ ।
निरौलाले सोमवार ‘कपुरी न्युज’सँग कुराकानी गर्दै कार्यपालिकाले न्यायिक सुनवाई नगरेको र कर्मचारीहरूको व्यवहारका कारण आफू मानसिक तथा पारिवारिक रूपमा प्रभावित भएको बताएकी छन् । उनले भनिन् ‘मलाई योजनाबद्ध रूपमा हिंसाको प्रतीक बनाइएको र तथ्यविहीन आरोप लगाइएको छ ।’
उनले कार्यकक्षको नाम प्लेट आफूले नफालेको बताउँदै भनिन् ‘मेरो कक्षका कर्मचारी राजालाई अर्को कक्षमा सार्न निर्देशन दिएको मात्र भएको हो ।’ तोडफोडको आरोप अस्वीकार गर्दै उनले कार्यकक्षमा सिसिटिभी फुटेज रहेको र आफूले कुनै भौतिक आक्रमण नगरेको बताइन ।
निरौलाले माघ २ गते सर्वोच्च अदालत र पाटन उच्च अदालतको फैसला उनको पक्षमा आएपछि कार्यालयमा उपस्थित भई काम सुरु गरेकी थिइन् । उनले नक्कली छाप र लेटर प्याड प्रयोग गरेको आरोप अस्वीकार गर्दै उपमहानगरपालिकाकै आधिकारिक छाप र लेटर प्याड प्रयोग गरिएको बताइन् ।
उनले प्रश्न गरिन् ‘उपमहानगरपालिकाले आफ्नै नक्कली छाप चलाउँछ ?’ निरौलाले भनिन् ‘कार्यपालिकाले मलाई एक शब्द पनि नसोधी निर्णय गरेको छ, त्यसबाट मान हानी भएको र अदालतको फैसला कार्यान्वयन नगरी अदालतको अवहेलना भएको छ ।’ उनले सोमवार पनि हाजिर हाजिर छु, भोलि पनि हुने बताइन् । 
निरौलाले कर्मचारी सरुवा र व्यवस्थापनमा आन्तरिक मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत ढिलासुस्ती र चलखेल हुने गरेको गुनासो पनि गरिन् ।
हर्क साम्पाङबाट डेढ वर्ष अघि पीडित  
लोकसेवाबाट नियुक्त १०औँ तहकी कर्मचारी हुँदाहुँदै पनि निवर्तमान नगरप्रमुख हर्क साम्पाङको व्यवहारका कारण आफू जिम्मेवारीविहीन बनाइएको उनको भनाइ छ । उनले कर्मचारीहरूबाट तत्काल असहयोग भएको र आफू भन्दा तल्लो ८ औ तहका कर्मचारी वेदप्रसाद सापकोटासँग कुनै व्यक्तिगत विवाद नरहेको स्पष्ट हुन आग्रह गरिन् । 
नगरप्रमुख साम्पाङले कानुन विपरीत कार्य गर्न लगाएपछि मैले हस्ताक्षर गरिन,हस्ताक्षर नगरेपछि नगरप्रमुखले जनभावना अनुरूप काम नगरेको भन्दै उहाँकै आदेश पछि जिम्मेवार विहीन बनाएको बत्ताइन । 
उनले भनिन् ‘साम्पाङले नै २०८२ वैशाखदेखि नै आफूलाई जिम्मेवारीविहीन बनाइएका थिए ।’आफू काठमाडौँ गएको बेला धरान–१६ स्थित निवासमा राखिएको स्कुटर उपमहानगरपालिकाको स्टोरमा रहेको दोस्रो चाबी प्रयोग गरी नगर प्रहरीले नियन्त्रणमा लिएको घटनाले मनोबल गिराउने कार्य भएको बताइन् । 
साम्पाङको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले कोसी राजमार्ग अन्तर्गत धरानको मुख्य बजार क्षेत्रमा ७२ फिट सडक मापदण्ड कायम गर्ने निर्णय गरेको थियो । उक्त निर्णय ऐन–कानुनसँग बाझिने भन्दै असहमति जनाएपछि नगरप्रमुख साम्पाङ सँग टकराब भएको र त्यसपछि आफूलाई कारबाही गरिएको निरौलाको आरोप छ ।