धरान : धरान उपमहानगरपालिकाकी निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रज्ञादेवी निरौलाले काठमाडौँ गएर सरुवा लिएकी छन् ।

उनले उपमहानगरपालिकामा नेपालको ऐन, कानुन, नीति नियमसँग बाझिने कार्य गर्न मेयर हर्क साम्पाङले दबाब दिएपछि सरुवा लिएको कर्मचारी वृत्तमा चर्चाको विषय बनेको छ ।

निरौला सरुवाका लागि बिहीबार काठमाडौँ गएकी थिइन् । प्रशासकीय प्रमुख निरौलालाई फोन सम्पर्क गर्दा उनले सरुवा लिएको पुष्टि गरिन् । मेयर हर्क साम्पाङसंग विवादका कारण सरुवा लिएको भन्ने विषयमा भने कुनै प्रतिक्रिया दिइनन् ।

तर उनलाई मेयर साम्पाङले सहयोग नगरेको आरोप लगाई अर्को प्रमुख प्रशासकीय अधिकृतको माग सहित सरुवामा सहमति दिएको थाहा भएको छ।

प्रमुख प्रशासकीय अधिकृत निरौला र मेयर साम्पाङ बिच के कुरामा विवाद भएको थियो ? कर्मचारी वृत्त बाहेक कमैलाई थाहा होला ।

श्रोतका अनुसार सङ्घीय ऐनसँग बाझिने काम गर्न नमान्दा मेयर हर्क साम्पाङ सँग उनको विवाद बढेको थियो । आफूले भनेको नमाने पछि मेयर साम्पाङ निरौलालाई बिदामा बस्न आदेश लिएका थिए ।

मेयर साम्पाङले निरौलालाई शुक्रवारदेखि बिदामा बस्न आदेश दिएका थिए । तर विहीवारनै उनी काठमाडौँ पुगेर सरुवा मिलाएकी हुन । शुक्रवार निरौला उपमहानगरपालिकामा हाजिर भइनन् ।

निरौलासँग मेयरको विवादका एउटा कारण जोगबनी–किमाथाङ्का जोड्ने कोसी राजमार्गको धरान बजारको ७२ फिटे नक्सा प्रमाणीकरणको विषय र कर्मचारी नियुक्ति विषय भएको सुनिएको छ ।

२०८० असार २० गते को कार्यपालिका बैठकले कोसी राजमार्ग अन्तर्गत धरानमा मुख्य बजार क्षेत्रमा ७२ फिट कायम गर्ने निर्णय गरेको थियो । उक्त, निर्णय स्थानीय सरकारले गर्न नमिल्ने अडानमा निरौला थिइन् ।

धरान १६ का वडाध्यक्ष मुरारी भट्टराईले भने, ‘बैठकले सिफारिस मात्र गर्ने निर्णय गरेको थियो तर माइन्युटमा तोडमोड गर्दै ७२ फिट बनाउने भन्ने निर्णय लेखिएछ ।’ उनले कार्यपालिका बैठकमा कोरम पुर्‍याउन बैठकको सुरुवातमा नै हस्ताक्षर गर्ने भएकाले यस्ता निर्णय हुने र त्यसले समस्या उत्पन्न भइरहेको बताए ।

असार ३ को कार्यपालिकामा बुँदा नं. ३ मा ‘नेपाल सरकार राष्ट्रिय गौरवको आयोजना अन्तर्गत रहेको कोसी राजमार्ग धरानको तीनकुनेदेखि जिरो पोईन्टसम्म ५ किलोमिटर सडक विस्तार नहुँदा घर नक्सा पास रोक्का, नयाँ संरचना लगायतका काममा बाधा अड्चन आएकाले नेपाल सरकारबाट तोकिएको २०५ फिटको मापदण्ड कायम गरी बाटो विस्तार गर्दा बजार क्षेत्रमा रहेका भौतिक संरचना क्षति हुने भएकोले राजमार्गको मापदण्ड ७२ फिट कायम गर्ने सर्वसम्मत निर्णय गरियो’ भनिएको छ ।

उक्त निर्णयको प्रमाणीकरण तत्कालीन प्रशासकीय अधिकृत मातृका भट्टराईले गरेका छन् । उपमहानगरपालिका स्रोतका अनुसार कार्यपालिकाको निर्णय अनुसार अहिले निजी क्षेत्रले नक्सा बनाउने कार्य गरिरहेको छ ।

उक्त नक्साको प्रमाणीकरण गर्न र इजाजत दिन प्रमुख प्रशासकीय अधिकृत निरौलालाई दिन दबाब दिइरहेका थिए । निरौलाले उक्त मापदण्ड घटाउन सङ्घीय कानुनसँग बाझिने भएकोले नमिल्ने बताएकी थिइन् ।

त्यसका आधार मेयर साम्पाङले प्रशासकीय अधिकृत निरौलालाई प्रमाणीकरण र इजाजतमा हस्ताक्षर गर्न नमानेपछि कारबाही स्वरूप बिदामा बस्न आदेश दिए लगत्तै निरौलाले सरुवा नै लिएको स्रोतले बताएको छ ।

यसैगरी उपमहानगरपालिकाका दमकल कर्मचारी सूर्यबहादुर अधिकारी, प्रशासनका राजन कार्की पाचौं तह र ड्राइभर सूत्र तामाङ सेवा निवृत्त भएका छन् । उनीहरूको ठाउँमा नगर प्रमुख राईले आफ्ना मान्छे नियुक्त गर्न दबाब दिइरहेका थिए । प्रमुख प्रशासकीय अधिकृत निरौलाले उक्त कार्य मानिरहेकी थिइनन् ।