इटहरी : सुनसरी क्षेत्र नम्बर ३ हरेक निर्वाचनमा चर्चामा रहन्छ । टिकट वितरण देखि निर्वाचनका प्रत्येक गतिविधि चर्चामा आउने गरेका छन् । यसको मुख्य कारण काँग्रेस नेता विजय कुमार गच्छदार हुन् । ८औँ पटक उम्मेदवार भइरहेका गच्छदार १८ पटक मन्त्री भइसकेका नेता हुन् । 
नेपाली राजनीतिमा सबैभन्दा धेरै मन्त्री बन्ने नेताको रूपमा चिनिएका उनी यस पटक अन्तिम भोट माग्दैछन् । नेपाली काँग्रेसले सुनसरी ३ मा वेदनारायण गच्छदारलाई समेत टिकट थमाएको थियो । दुहबी नगरपालिकाका मेयर समेत रहेको वेदनारायणले यस पटक विजयलाई सघाउने भन्दै उम्मेदवारी दिएनन् । 
विजयकुमार गच्छदारपनि आठौँ पटक अन्तिम पटक भन्दै भोट माग्ने योजनामा छन् । यसअघि नेकपा (एमाले)की भगवती चौधरीसँग पराजित गच्छदारलाई बदला लिनुपर्ने बाध्यता छ । नागरिकसँगको लामो संवादहीनता र कार्यकर्ताको जोसमा आएको कमिले गच्छदारलाई अनेकौँ चुनौती थपिएका छन् । 
भगवतीसँग आक्रोशित मतदाताले गच्छदारलाई केही सहज बनाउने देखिएपनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अशोक चौधरी भारी पर्ने देखिएको छ । गच्छदारसँग ३ पटक पराजित भगवती २०७९ मा विजयी भइन् । पुनः गच्छदारलाई नै उनले प्रमुख प्रतिस्पर्धी मानेकी छिन् । तर एमाले पार्टी भित्रको असन्तुष्टि र जनताको आक्रोशले समस्यामा छिन् उनी । कार्यकर्तालाई अपमानित व्यवहार गरेको, भोट माग्न आएदेखि अन्य समस्यामा नआएको, मन्त्री हुँदा समेत काम नगरेको जस्ता गुनासो सुन्नुपर्ने अवस्थामा छिन् भगवती । 
भगवतीलाई आन्तरिक समस्या मिलाउन व्यस्त भइरहेको बेला रास्वपा उम्मेदवार अशोक भने धमाधम प्रचारमा छन् । गच्छदार कार्यकर्तासँग भलाकुसारीमा रमाउँदा अशोकले चुनावी तयारी तीव्र पारेका हुन् । यसअघि समानुपातिक सांसद रहेका अशोक नयाँ उम्मेदवार भएकाले उनका बाचाहरू नागरिकले ध्यान दिएका छन् । रास्वपाका नेता बालेन्द्र शाहको लोकप्रियताले पनि उनलाई सहयोग पुर्‍याएको छ । रास्वपाले बालेन्द्रलाई आगामी प्रधानमन्त्रीको रूपमा प्रस्तुत गरेको छ ।
काँग्रेसले पनि आगामी प्रधानमन्त्रीको रूपमा पार्टी सभापति गगनकुमार थापालाई प्रस्तुत गरेर अभियान चलाएको छ । तर गच्छदारले आगामी प्रधानमन्त्री गगन थापा नै हुन् भनेर चुनावी प्रचार गरेका छैनन् । जसले काँग्रेसका पुराना मतदातामा गच्छदार प्रति अविश्वास बढाएको छ । 
सुनसरी ३ मा इटहरी, दुहबी, गढी र बर्जू गरी चार वटा पालिका पर्छन् । त्यसमध्ये सबैभन्दा धेरै मतदाता रहेको इटहरी र दुहबीमा गच्छदार कमजोर छन् । बर्जू र गढीमा गच्छदार प्रति सदाशयता राख्ने मतदाता भएपनि दुई पालिकाका मतदाताले उनलाई रिटायर नेताको रूपमा लिएका छन् । २०७९ को निर्वाचनमा पनि इटहरीमा रास्वपाले सबैभन्दा बढी मत पायो । दुहबीमा समेत गच्छदार कमजोर बने । आफ्नै क्रियाशील कार्यकर्ताको मत समेत नपाएका गच्छदारलाई नयाँ मतदाताले झनै चिन्दैनन् । 
काँग्रेसका मतदाता अन्य भन्दा बढी उदार हुने भएकाले रास्वपा तर्फ आकर्षित छन् । यसअघि माओवादीमा समेत भोट हाल्न लगाएको काँग्रेसले कार्यकर्तालाई रुखमै फर्काउन धेरै मेहनत गर्नुपर्ने भएको छ । काँग्रेस कार्यकर्तालाई विश्वासमा लिनु नै गच्छदारको जितको पहिलो आधार हो ।
पुराना मतदाताले समेत नयाँ अनुहार हेर्न खोजेको यो समय गच्छदारको लागि भावना बाहेक विक्री गर्ने कुनै मुद्दा छैन । ‘यो नै अन्तिम पटक’ भन्दा नागरिकले माया गरे भने मात्र गच्छदार विजय हुने सम्भावना छ । त्यसबाहेक अपरिचित उम्मेदवार अशोक र आक्रोशको सिकार बनेकी भगवती गच्छदारको लागि फलदायी बन्न सक्छ ।