इटहरी : नेपाली काँग्रेस ओखलढुङ्गाका प्रतिनिधिसभा सदस्य उम्मेदवार कुमार लुइँटेल इटहरी आइपुगेका छन् । इटहरीमा मोरङ र सुनसरीमा रहेका ओखलढुङ्गाका काँग्रेस कार्यकर्ता सँग भेटघाट गरेर चुनावी सहयोग मागेका हुन् ।

लुइँटेलले ओखलढुङ्गा घर भएर विभिन्न क्रममा मोरङ, सुनसरी पुगेका कार्यकर्तालाई भेटघाट गरेका छन् । रामहरि खतिवडा, उमेशजङ्ग रायमाझी, प्रदीप सुनुवार लगायत काँग्रेस नेताहरू उपस्थित कार्यक्रममा गगन थापालाई प्रधानमन्त्री बनाउन लुइँटेललाई भोट माग्नुपर्ने नेताहरूले बताए ।

सुनसरी २ का उम्मेदवार राजीव कोइरालाले समेत गगन थापाको नेतृत्वमा काँग्रेस अगाडि बढेको र आपसमा सहयोग गरेर निर्वाचन सफल पार्नुपर्ने स्पष्ट पारे ।

निवर्तमान सांसद रामहरि खतिवडाले चुनावमा टिकट लिने प्रतिस्पर्धा भएपनि उम्मेदवार भएपछि सबैले खुलेर सहयोग गर्नुपर्ने बताए । आफू उम्मेदवारको आकाङ्क्षी भएपनि लुइँटेललाई जिताउन अझै धेरै मेहनत गर्ने बाचा गरे ।

कार्यक्रममा लुइँटेलले सबैको सहयोगले मात्र काँग्रेसले ऐतिहासिक जित हासिल गर्ने बताए । फाल्गुन २१ गते हुने निर्वाचनमा उम्मेदवार बनेका लुइँटेल पहिलो पटक निर्वाचनमा होमिएका हुन् ।