धरान : धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख अईन्द्र विक्रम बेघाले कोशी प्रदेश सरकारको अनुदानमा चार कोशे जङ्गलमा गरिएको ३ वटा डिप बोरिङ धरान खानेपानी बोर्डले सञ्चालन गर्ने बुधवार सार्वजनिक जानकारी दिएका छन् ।
प्रदेश सरकारले धरान उपमहानगरपालिकालाई उक्त तैयार बेलहरू हस्तान्तरण गरेता पनि निवर्तमान प्रमुख हर्क साम्पाङले सञ्चालन गर्न रोकेका थिए ।
कोशी प्रदेश सरकारका प्रतिनिधि प्रदेश सभा सदस्य रमेशकुमार बस्नेतको उपस्थितिमा स्थलगत अनुगमन गरी कावा प्रमुख बेघाले ३ वटा डिप बोरिङ सञ्चालन गरिने बताएका हुन ।
 बेघाले भने ‘तीनमध्ये एउटा डिप तत्काल सञ्चालन योग्य छ भने बाँकी दुई वटाका लागि बुस्टर पम्प जडान गर्न करिब १५ दिन लाग्नेछ।’ 
बुस्टर जडान भएपछि करिब २० दिनभित्र ३ वटै बोरिङको पानी धराने जनताको घरघरमा पुग्ने उनले बताए । डिपबोरिङको उत्पादन क्षमता दैनिक ६० लाख लिटर रहेको छ ।
हाल सुख्खायाममा ४० देखि ५० लाख पानी उत्पादन हुने प्राविधिकहरूको भनाई छ । 
बेघाले वेलबाट निस्केको पानी गुणस्तरीय रहेको र पिउन योग्य रहेको बताए । परियोजना सफल बनाउन पूर्वमन्त्री, प्रदेशका सांसद र स्थानीय सरोकारवालाहरूको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै धन्यवाद व्यक्त गरे।
उनले भने, “खानेपानीको विषयमा कुनै पनि गडबडी सह्य हुनेछैन र हामी इमानदार भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्छौँ  विगतका प्राविधिक र व्यक्तिगत उल्झनहरूलाई त्यागेर जनताको तिर्खा मेटाउन अहोरात्र खटिनेछौँ।”
बेघाका अनुसार १७ नम्बर वडाको कुम्भी आहालमा रहेको डिप बोरिङ तत्काल सञ्चालन योग्य रहेको र दुई बोरिङमा बुस्टर पम्प जडान बाँकी रहेको छ।
कोशी प्रदेश सांसद रमेश बस्नेतले भने, 'यो ३ वटा बोरिङ प्रदेश सरकारले तत्कालीन राहत स्वरूप थप गरी जनतालाई तत्कालको अभाव टार्ने लक्ष्य सहित गरेको हो ।'  
 दीर्घकालीन योजनाका लागि सप्तकोसी वा तमोर नदीबाट पानी ल्याउने मेगा प्रोजेक्टका लागि आवश्यक पहल भइरहेको उनले बताए । धरानको खानेपानी समस्या चाँडै नै दीर्घकालीन रूपमा समाधान हुने बताउँदै उनले भने 'तर यस विषयमा राजनीति गर्नु हुँदैन।'
प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ मा ३ वटा डिप बोरिङ निर्माणका लागि ४ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो। ठेक्कामार्फत १ करोड ५१ लाख ४५ हजार ९०९ रुपैयाँमा निर्माण सम्पन्न गरिएको हो ।
गत साउन २८ गते स्थलगत अनुगमनमा सांसद रमेश बस्नेत, विजयकुमार राई, तत्कालीन प्रमुख हर्क साम्पाङ, उपमेयर अईन्द्र विक्रम बेघा, खानेपानी बोर्ड निर्देशक राजु पोखरेल र मन्त्रालयका सचिव प्रदीप वान्तवाले सहभागी थिए।