फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा एमालेका उम्मेदवार टीकाराम लिम्बु (माङलेन) २४ वर्ष अघि विद्यार्थी नेतृत्वबाट राजनीतिमा जोडिएका हुन । २०७७ देखी नेकपा एमाले सुनसरी जिल्ला कमिटी सदस्य रहँदै आएका उनको शिक्षा र राजनीतिक अनुभवको मूल्याङ्कन गरेर पार्टीले उम्मेदवार बनाएको बुझिन्छ ।
पछिल्लो समय जनप्रतिनिधिहरूको शिक्षा, योग्यता, उमेर र अनुभवको सवाल उठिरहेको हुनाले यसपालिको चुनावमा मतदाताको ध्यान त्यसमा जाने निश्चित छ । पटक पटक सरकारमा गएको दलका उम्मेदवार लिम्बु उमेरले समेत सबै कसीमा खरो उत्रिएका देखिन्छन् ।
राजनीति शास्त्रमा एमए डिग्रीधारी, कानुनमा स्नातक ४१ वर्षीय टिकाराम माङलेन विचारमा अझ स्पष्ट पाइए । फागुन २१ गते हुने मध्यावधि चुनावलाई एक उम्मेदवारको रूपले कसरी हेरिएको छ ? लिम्बू भन्छन् ‘यो निर्वाचन उमेदवारहरुको छनौट मात्रै होइन नीति र विचारको छनौट हो ।’
उनको विचारमा नीतिले उद्देश्य पुरा गर्न मार्गदर्शन बनाउँछ । नेकपा एमालेले सपना बनाएको छ समृद्ध नेपाल र सुखी नेपाली, र यो सपना विचारले ल्याउँछ, सोँचले ल्याउँछ र दृटिकोणले तयार गर्छ ।
टिकरामले भने ‘नीति र विचार नभएका पार्टीहरूलाई जनताले कसरी छान्लान् र ?’ उनले चुनावी मैदानमा आफूलाई जनताको भावनाबाट निर्माण भएको नीति र विचारको कसिला काम गर्न उभिएको जनताको सेवक भएको बताए । उनले भने ‘जनतासामु देखिने, सबैबिच सुनिने र मेरो क्षेत्रको जनताको मन मस्तिष्कमा महसुस हुने काम गरेर देखाउँछु ।’
निर्वाचनबाट नीति बनाउने, कानुन निर्माण गर्ने र विचार निर्माण गर्न योग्य प्रतिनिधि छान्ने हो भने उनी उमेर, विज्ञता र कानुनका विद्यार्थीका हिसाबले छान्नै पर्ने उम्मेदवार भएको उनको दाबी छ । प्रतिनिधिसभाको काम नै नीति बनाउने हो, कानुन बनाउने हो ।
राजनीतिक पृष्ठभूमि
२०५४ सालमा भएको स्थानीय तहको निर्वाचनमा बुवा देउकुमार लिम्बू ताप्लेजुङको मामाङ्खे गाविसको राप्रपाका तर्फबाट उपाध्यक्षको उम्मेदवार थिए । एमालेसँग राप्रपाको गठबन्धन थियो र अध्यक्षमा एमालेका उम्मेदवार थिए । निर्वाचनमा गठबन्धनका उमेदवारहरुले जितेको थियो ।
बुवाको चुनावी अभियानमा होमिएका १३ वर्षीय टीका माङ्लेनको मन भने एमालेको चुनाव चिह्न सूर्यले जितिसकेको थियो । एमाले नेता, कार्यकर्ताहरूको हार्दिकता र जनताप्रतिको सम्मान भावले टीकालाई प्रभाव परिसकेको थियो ।
एमालेको गहिरो छाप परेको टीकाको बाल मनस्थितिका बेला उनी गाउँकै सिनाम माध्यमिक विद्यालयमा पढ्दै थिए । २०५६ सालमा ९ कक्षामा पढ्दै गर्दा विद्यालयमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को सदस्य बने । र, निरन्तर नेकपा (एमाले) को विचारमा जीवनपर्यन्त लागिरहने प्रण गरे ।
शिक्षा र विद्यार्थी :
२०४१ साल भदौ २१ गते ताप्लेजुङ, साबिक मामाङ्खे हाल श्रीजंघा गाउँपालिका वडा नम्बर ६ मा आमा सुनमाया लिम्बू (इधिङ्गो) र बुवा देउकुमार चार दाजुभाइमध्ये माइलो छोरा टीका श्रीमती– सीमा लिम्बू (साम्मेखाम) र छोरा अनुरो लिम्बूसहित हाल धरान १० सेवालुङ चोकका स्थायीबासी हुन् ।
राजनीति शास्त्रमा स्नातकोत्तर र एलएलबी टीका सिनाम माविबाट एसएलसीपछि २०५८ सालमा इलामस्थित महेन्द्र रत्न क्याम्पसमा आइकम पढ्न थालेपछि क्याम्पसको क्लास कमिटीमा रहेर विद्यार्थी राजनीतिमा जोडिए ।
२०६० सालमा महेन्द्र बहुमुखी क्याम्पस धरानमा पुन आइए अध्ययन थालेपछि क्याम्पसमा मर्निङसिफ्ट कमिटी सदस्य भएर क्रियाशील भए । २०६२ सालमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सदस्य निर्वाचित भए ।
२०६३ सालमा अनेरास्ववियुको प्रारम्भिक कमिटीको अध्यक्ष बनेका उनि २०६७ सालमा अनेरास्ववियु सुनसरी जिल्ला कमिटी अध्यक्ष हुँदै २०६९ सालमा अनेरास्ववियुको केन्द्रीय सदस्य बनेर विद्यार्थी आन्दोलनमा होमिए ।
पार्टी राजनीतिमा
२०५४ सालदेखि विद्यार्थी राजनीतिमा होमिएका टिकाले नेकपा (एमाले) को सङ्गठित सदस्यता भने २०६४ सालमा मात्रै प्राप्त गरे । सोही साल नेकपा एमाले, धरान १० नम्बर वडा कमिटीको सचिव, २०६५ सालमा नेकपा (एमाले) धरान नगर कमिटी सदस्य र २०६८ सालमा नगर सचिवालय सदस्य बने ।
२०७७ सालमा सुनसरी जिल्ला कमिटी सदस्य, २०७८ सालमा नेकपा (एमाले) सुनसरीको सातौँ जिल्ला अधिवेशन र २०८१ सालमा भएको आठौँ जिल्ला अधिवेशनबाट समेत सदस्य निर्वाचित भए ।
२०७२ को भूकम्पबाट प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि पार्टीले सञ्चालन गरेको अभियानमा स्वयम् सेवकका रूपमा जनताको कामसँगै २०७३ सालमा पार्टीले सञ्चालन गरेको मेची महाकाली अभियान स्वयम् सेवकको भूमिका निर्वाह गरे ।
लोकतान्त्रिक आन्दोलन, हिरासत र यातना :
तत्कालीन राजा ज्ञानेन्द्र शाहको राजनीतिक कु का विरुद्धको आन्दोलनमा विद्यार्थी नेताका रूपमा निरन्तर आन्दोलनको मोर्चामा रहँदा पटक पटक गिरफ्तार र राज्यको तर्फबाट यातनाको शिकार बने ।उनको २०६२/०६३ सालको जनआन्दोलनमा अग्रणी भूमिका रहयो ।