धरान : नेपाली कम्युनिस्ट पार्टीका सचिवालय सदस्य जगन्नाथ खतिवडाले विकास र समृद्धिको आधार ‘विचार’ भएको बताएका छन् । उनले भने ‘विकास विचार बिना सम्भव छैन, विचार विहीन विकासको काम छैन ।’
नेकपाद्वारा आइतबार धरानमा आयोजित चुनावी सभामा नेता खतिवडाले विकासलाई केवल भौतिक संरचनासँग होइन, चेतना, सामाजिक न्याय, समानता, राष्ट्रिय स्वाधीनता र वैचारिक स्पष्टतासँग जोडेर हेर्नुपर्ने बताए ।
उनले भने ‘नेकपाले गणतन्त्र ल्यायो,समाज निर्माण गर्यो र जातीय, वर्गीय, धार्मिक एकता एवं नेकपा सामाजिक मुक्तिका लागि सङ्कल्प गरेको पार्टी हो ।’ खतिवडाले नेकपा देशलाई सामाजिक न्याय, समानता र राष्ट्रिय स्वाधीनताको बाटोमा अघि बढाउन प्रतिबद्ध भएको बताए ।
उनले भने, “देश जलाउने होइन, देश बचाउने पार्टी नेकपा हो ।’ नेपालले साम्राज्यवाद, आर्थिक अपचलन र पुँजीवादी हस्तक्षेपबाट जोगिनु जरुरी रहेको बताए ।
उनले रास्वपाको नीलो झन्डालाई पुँजीवादी शक्तिको ‘नयाँ एजेन्ट’को सङ्केत भएको बताउँदै भने ‘देश बनाउन लहड र भेलमा होइन, चेतना र विचारमा आधारित राजनीति चाहिन्छ ।’ विकासको नाममा हुने लहडबाजीले देशलाई सही दिशामा लैजान नसक्ने खतिवडाको भनाई थियो ।
खतिवडाले बाल्यकालको उदयपुरबाट धरानप्रति रहेको स्मृति सम्झँदै भने ‘धरान कुनै बेला शिक्षा, संस्कृति, खेलकुद, धार्मिक पर्यटन र व्यापारको केन्द्र थियो ।’
पिण्डेश्वर, बुढासुब्बा,भेडेटार पहाडको द्वारको रूपमा चिनिने धरान पूर्वकै सुन्दर शहर थियो । तर आजको धरान ट्राफिक अस्तव्यस्तता, साँघुरा सडक, पहुँचको कठिनाइ र अव्यवस्थित विकासले गर्दा आकर्षण घट्दै गएको शहर बनेको बताए ।
उनले भने ‘बाहिरबाट देखिने धरान र भित्र भोगिने धरानको वास्तविकता फरक छ ।’ खतिवडाले धरानको पुनर्जीवनको आह्वान गरे । उनले धरानको पुनर्जीवन, पुनर्ताजगी र पुनर्निर्माण आवश्यक भएको, शिक्षा, खेलकुद,संस्कृति, व्यापार,पर्यटन, कृषि र आत्मनिर्भर अर्थतन्त्रमा आधारित धरान निर्माण जरुरी भएको बताए ।
खतिवडाले भने ‘यसै उद्देश्यका लागि नेपाली कम्युनिस्ट पार्टीले मनोज भट्टराई लाई तारा चिन्ह दिएर उम्मेदवार बनाएको छ ।’ धरानलाई पुनर्जीवन दिन सक्ने नेतृत्वको आवश्यकता अहिलेको मुख्य आवश्यकता हो । त्यसको नेतृत्वको जिम्मा मनोज भट्टराई दिन उनले धरानवासीलाई आव्हान गरे ।
खतिवडाले पद र शक्ति मात्र होइन,साझा हित र खुसी सबैले अनुभव गर्नुपर्ने बताउँदै,व्यङ्ग्यात्मक रूपमा नेतृत्व र जनताको सन्तुष्टिलाई जोड दिए । उनले भने ‘धेरैले पद,शक्तिमा कुरा गर्छन्, तर व्यक्तिगत खुसी,साझा हित वा सामूहिक लाभ सबैले मिलेर अनुभव गर्नुपर्ने कुरा हो ।’
खतिवडाले हर्क साम्पाङलाई व्यङ्ग्य गर्दै भने ‘भित्ता भित्तामा धेरैले ‘प्रधानमन्त्री’ भन्छन् होला, तर मनको लड्डु त घिउसँगै सबैले खान पाउँछन् खान दिनुस् ।’ एक सिट नआउने त्यत्तिले प्रधानमन्त्रीको कल्पना गर्नु आफूलाई भित्तामा पुर्याएको जस्तो मात्र भएको उनको भनाई थियो ।
उनले नेतृत्त्व र जनताको सन्तुष्टिको महत्वलाई स्पष्ट गर्दै, सत्ता र व्यक्तिगत लाभभन्दा साझा हित उच्च प्राथमिकता हुनुपर्ने विषयमा ध्यानाकर्षण गराउदै सत्ता र शक्ति भन्दा ठुलो कुरा साझा हित र आनन्दको महत्त्वपूर्ण हुने भएकाले साझा उम्मेदवार सबैको हित चाहाने उम्मेदवारलाई निर्वाचन जिताउनु पर्ने बताए ।
सभामा जेनजी युवा युवराज अलौकिकले भने,“मनोज भट्टराई पात हो कि फूल अझै धेरैले चिन्न सकेका छैनन्। तर जेनजी र युवापुस्ताका लागि उनी फूल जस्तै उज्यालो र आशाको प्रतीक हुन ।” मनोज भट्टराई युवापुस्ताका लागि सुनसरीमा सुशासन र भ्रष्टाचार निर्मूल पार्न अब एक मात्र तारामय विकल्प भएको उनले बताए ।