धरान : सुनसरी क्षेत्र १ मा प्रतिनिधिसभा निर्वाचनको पूर्व सन्ध्या निर्वाचन आचार संहिता उल्लंघन गर्दै बाल अधिकार हनन गरेको उजुरी गर्दा पनि दोषीलाई कारबाही नभएकोले तत्काल कारबाहीको माग सहित धरान बाल सञ्जालले आमरण अनशन सुरु गरेको छ ।
धर्ना आज मङ्गलवार बिहान १२ बजे देखी सुनसरी–१ को निर्वाचन कार्यालय धरान–८ सभागृह अगाडि बसेको हो । अनशनमा सञ्जालका संयोजक रोजन शकर बसेका छन् । उनले बाल सञ्जालको मागहरू सम्बोधन नभएकोले आमरण अनशन सुरु गरिएको बताए ।
सञ्जालका अध्यक्ष मानव गदाइलीद्वारा हस्ताक्षरित माग पत्रमा श्रम संस्कृति पार्टीकी समानुपातिक उम्मेदवार मिना सिंह र तत्कालीन धरान उपमहानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष धनबहादुर राई लगायतलाई कारबाही हुनुपर्ने माग गरिएको छ ।
उनीहरूले बालबालिकालाई दुरुपयोग गरी चुनावको प्रचार भिडियो बनाई सामाजिक सञ्जालमा प्रचार गरेको आरोप लगाइएको छ । बाल अधिकार दुरुपयोग गर्नेहरूबाट असुरक्षा भएको जनाउँदै माग पत्रमा बाल सञ्जालका सदस्यहरूको सुरक्षाको जिम्मेवारी राज्यले लिनुपर्ने उल्लेख छ ।
चुनावी प्रचारका क्रममा श्रम संस्कृति पार्टीका उम्मेदवार हर्क साम्पाङ र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार उद्धव श्रेष्ठ ले बालबालिकालाई नाराबाजी, जुलुस तथा प्रचार अभियानमा सहभागी गराएको आरोप सञ्जालले लगाएको छ ।
सञ्जालले यसअघि फागुन १३ र १७ गते विभिन्न राजनीतिक दलहरूले निर्वाचन प्रचार–प्रसारका क्रममा बालबालिकालाई प्रयोग गरेको भन्दै प्रमाणसहित निवेदन दिएको थियो । तर सुनसरी क्षेत्र १ को निर्वाचन कार्यालयले निवेदन जिल्लामा फरवार्ड नगरेकोले नगर बाल सञ्जाल धर्नामा बसेको थियो ।
त्यस बेला पनि बाल अधिकारको संरक्षण र निर्वाचन आचारसंहिताको पूर्ण पालना हुनुपर्ने मागसहित सञ्जालले सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएको थियो ।
त्यसअघि माघ ११ गते बाल सञ्जालका प्रतिनिधि रोजन शङ्कर र अध्यक्ष मानव विश्वकर्माले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बालबालिकालाई चुनाव प्रयोग गरी आचार संहित उल्लंघन गरेको विरुद्ध आयोगमा उजुरी गरेको थियो ।
निर्वाचन आयोगले स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै पुनः जवाफ माग गर्दै श्रम सस्कृती पार्टीलाई २५ हजार रुपैयाँ जरिवाना गरेको सुनसरी १ निर्वाचन अधिकृत दिव्यराज घिमिरेले बताए । पहिलो पटक बालबालिका दुरुपयोग गरेकोमा दण्डित भएपछि पनि सोही पार्टीबाट पुनः आचार संहिता हनन गरिएको उजुरी गरिएको हो ।
यसैबीच, धर्ना बस्नु आचार संहिता उल्लंघन भएको भन्दै प्रहरीले अनशनकारीलाई परिसरबाट हटाउन खोजेको छ । इलाका प्रहरी कार्यालयका डिएसपी भिषण बाबु राईले निर्वाचन आचार संहिता विपरीत निर्वाचन कार्यालय धर्ना बस्न हुँदैन भनेर पटक पटक सम्झाएको बताए ।