धरान : धरानका पूर्व नगरप्रमुख तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ विरुद्ध चुनावी प्रचारमा बालबालिका प्रयोग गरिएको आरोप लागेको छ।
धरान नगर बाल सञ्जालले आइतबार सुनसरी १ को निर्वाचन अधिकृतको कार्यालय र इलाका प्रहरी कार्यालय धरानमा बालबालिका प्रयोग गरेकामा कारबाहीको माग गर्दै उजुरी दर्ता गरेको हो। 
बाल सञ्जालका अनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन लक्षित प्रचारका क्रममा बालबालिकालाई प्रत्यक्ष रूपमा प्रयोग गरिएको छ।
उजुरी बाल सञ्जालका प्रतिनिधि रोजन शङ्कर र नगर बाल सञ्जालका अध्यक्ष मानव विश्वकर्माले संयुक्त रूपमा दर्ता गराएका हुन्।
उजुरीमा बालबालिका ऐन, २०७५ को परिच्छेद २, दफा ७ को उपदफा ९७० अनुसार बालबालिकालाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा राजनीतिक उद्देश्यका लागि प्रयोग गर्न नपाइने स्पष्ट कानुनी व्यवस्था स्मरण गराइएको छ। 
कानुन विपरीत बालबालिकालाई चुनावी गतिविधिमा संलग्न गराइएको भन्दै बाल अधिकारको गम्भीर उल्लङ्घन भएको दाबी गरिएको छ।
नगर बाल सञ्जालले विपक्षी हर्क साम्पाङ लाई निर्वाचन अधिकृतको कार्यालयमा झिकाई आवश्यक छलफल, छानबिन गरी निर्वाचन आचारसंहिता तथा प्रचलित कानुनबमोजिम कडा कारबाही गर्न माग गरेको छ।
उजुरी बुझ्दै प्रमुख निर्वाचन अधिकृत दिव्य राज घिमिरेले आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाइने बताए। उनका अनुसार प्रमुख निर्वाचन अधिकृतको संयोजकत्वमा बनेको समितिले उजुरी अध्ययन गर्नेछ र तालुक निकायमा पत्राचार गरिनेछ। 
आवश्यक प्रक्रियाका लागि मुख्य निर्वाचन प्रमुखको संयोजकत्वमा बनेको समितिले हेर्ने भएकाले पत्र तालुक निकायमा पत्राचार गर्ने बताए । उनले जिल्ला अनुगमन समितिमा  अनुगमन अधिकृतका रूपमा जिल्लाका सहायक प्रमुख र कोष नियन्त्रक तोकेको समेत जानकारी दिए । 
घिमिरेले भने, “अनुगमनबाट बालबालिका प्रयोग गरेको प्रमाणित भए एक लाख रुपैयाँसम्म जरिवाना र उम्मेदवारी दर्ता समेत खारेज हुन सक्छ।” उजुरी आजै सम्बन्धित निकायमा फरवार्ड गरिने उनले स्पष्ट पारे।