धरान : पटक पटकको लामो विवाद पछि निर्माण सकिए पनि सञ्चालनमा आउन नसकेको धरान–८ स्थित नयाँ धरान बस टर्मिनल उद्घाटन गर्न धरान उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख आइन्द्रविक्रम बेघा सफल भएका छन् ।
तीनकुने सुन्दरबस्ती जग्गा विकास क्षेत्रमा २४ करोड ८६ लाख ९ हजार रुपैयाँ लागतमा बनेको तीन तले टर्मिनल भवन सहित स्मार्ट बसपार्क बेघाले शनिवार बिहान विधिवत् पूजा अर्चना गरी रिबन काटेर उद्घाटन गरेका हुन ।
यसअघि तत्कालीन प्रमुख हर्क साम्पाङले नयाँ बसपार्कको उद्घाटन गर्ने तयारी गरेका थिए । तर त्यहाँ पूर्वाधारका थप काम पुरा नभएकोले उनी उद्घाटन गर्नबाट वञ्चित बने ।
त्यस अघि नयाँ बसपार्क निर्माण कार्यलाई कार्यान्वयन गराउन पूर्व प्रमुख तिलक राईलाई पनि आफ्नै कार्यकालमा बसपार्क बनेर उद्घाटन आफ्नै हातबाट गर्ने चाहना थियो । तर कोरोना महामारीले उनको कार्यकालका सबै चाहना धराशायी भए ।
त्यस अघि विवादका बिच पूर्व उपप्रमुख मञ्जु भण्डारीले बसपार्कको योजना अघि बढाउन शिलान्यास गरेकी थिइन । लामो समय विवादमा बितेर निर्माण सम्पन्न भए पनि बसपार्कमा आवश्यक पूर्वाधारको अभाव भएको भनी यातायात व्यवसायीहरूको असहमतिका कारण नयाँ बसपार्क उद्घाटन हुनसकेको थिएन ।
उद्घाटनको अवसरमा कावा प्रमुख बेघाले बसपार्कको प्रभावकारी सञ्चालन र व्यवस्थापन भौतिक संरचना निर्माण भन्दा मुख्य चुनौती रहेको बताए । बसपार्क सञ्चालनको लागि राजनीतिक मतभेद र जस लिने होडबाजी भन्दा माथि उठेर धरानको हितका लागि कार्यपालिका र सरोकारवालाहरू एक ढिक्का भएर अगाडि बढ्नु आवश्यकता रहेको उनको भनाई छ ।
भानु चोकबाट नयाँ बसपार्कमा स्थानान्तरण गर्दा सुरुमा केही असहजता आउन सक्ने उनले बताए । कावा प्रमुख बेघाले भने ‘त्यसका लागि स्थानीय, यातायात व्यवसायी, ट्याम्पो तथा सिटी सफारी व्यवसायी सबैको सहकार्य आवश्यक छ ।’
कावा प्रमुखको भनाईबाट धरानले लामो समयदेखि प्रतीक्षा गरेको आधुनिक बसपार्कको निर्माण सम्पन्न भए पनि यसको वास्तविक सफलता भने सञ्चालन व्यवस्थापन, ट्राफिक व्यवस्थापन र सरोकारवालाबीचको समन्वयमा निर्भर रहने देखिएको छ ।
नवनिर्मित बसपार्कको दक्षिण–पश्चिम क्षेत्रमा पर्ने केही जग्गा सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले उक्त क्षेत्रमा निर्माण कार्य हुन सकेको छैन ।
पूर्व मेयर तिलक राईको भनाई पूर्व मेयर तिलक राईले बसपार्क निर्माणमा लामो ढिलाइको मुख्य कारण राजनीतिक खिचातानी, अहङ्कार र श्रेय लिने प्रवृत्ति जिम्मेवार रहेको बताए । बसपार्क योजना सुरु भएको ८ वर्ष भइसकेको र यति लामो समय लाग्नुमा राजनीतिक खिचातानी, एक अर्काको अस्तित्व स्वीकार नगर्ने प्रवृत्ति मुख्य कारण रहेको उनको भनाई थियो ।
राजनीतिक दल र नेताहरूमा यो काम मैलै गरेको भन्ने प्रवृत्तिले बसपार्क सञ्चालनमा आउन ढिलाइ भएको उनले बताए । उनले भने ‘यसले धरानवासीको भावनामा चोट पुर्यायो।’ उनले भने ‘कसैले पनि बसपार्क मैले मात्रै बनाएको हुँ भन्नु हुँदैन, यो धरानवासीको साझा सम्पत्ति र साझा प्रयास हो ।’
पूर्व मेयर राईले विवादको कारण रोकिएको बसपार्कको काम सुचारु गर्न कस्ले भूमिका खेल्यो त्या यथार्थ स्वीकार गर्नु जरुरी भएको बताउँदै भने ‘आज काम सम्पन्न हुँदा कसको योगदान छ भन्ने कुरा धरानका सचेत जनताले राम्ररी बुझेका छन् ।’
धरानमा धेरै आयोजनाहरू सुरु त भए तर राजनीतिक अहङ्कारका कारण सम्पन्न हुन सकेनन् । ८ वर्षमा एउटा बसपार्क पनि राम्रोसँग बन्न नसक्नु दुःखद भएको र यसको जबाफदेहिता नेतृत्वले लिनुपर्ने पूर्वप्रमुख राईको भनाई छ ।
पूर्व उपमेयर मञ्जु भण्डारीको भनाई
निवर्तमान उपमेयर मञ्जु भण्डारीले उनले सुरुवाती चरणमा स्थानीयको कडा विरोध र अविश्वास रहेको स्मरण गरिन् । तीनकुने सुन्दरबस्ती जग्गा विकास क्षेत्रमा बसपार्कको योजना बन्दा बनेपछि योजना स्थलको जग्गा बाँडफाँडमा ठुलो विवाद आएको स्मरण गरिन् ।
उनले भनिन् ‘कठिन परिस्थितिबिच जग्गा व्यवस्थापन र विवाद समाधान आयोजना अघि बढाइएको थियो ।’ धरानको भविष्यलाई मध्यनजर गर्दै बसपार्क सफल बनाउन यातायात व्यवसायी, ट्याम्पो, सिटी सफारी तथा मजदुर सबैले सहकार्य गर्नुपर्ने उनको भनाइ थियो ।
मञ्जु भण्डारीले बसपार्क निर्माण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन अर्थमन्त्री युवराज खतिवडा समेतलाई आभार व्यक्त गरिन् ।
आधुनिक सुविधा सम्पन्न संरचना :
करिब २७ कट्ठा क्षेत्रफलमा बनेको बसपार्कको मुख्य आकर्षण बेसमेन्टसहितको तीन तले टर्मिनल भवन हो। प्रत्येक तलाको क्षेत्रफल १ हजार ८४० वर्ग मिटर रहेको छ ।
बेसमेन्टमा पार्किङ सुविधा, दुई वटा सवारी ट्याम्फु, दुई वटा पैदल र्भयाङ तथा भविष्यमा लिफ्ट जडान गर्न मिल्ने गरी ‘लिफ्ट भोइड’ निर्माण गरिएको छ।
भुइँतलामा १०५ सिट क्षमताको प्रतीक्षालय,२५ वटा टिकट काउन्टर, एटीएम बुथ, सिसिटिभीसहित सुरक्षा कक्ष, प्राथमिक उपचार कक्ष, मिनी मार्ट, अपाङ्गमैत्री सार्वजनिक शौचालय तथा व्यापारिक प्रयोजनका लागि खुला स्थान राखिएको छ।
पहिलो तलामा १४ वटा व्यापारिक सटर, शौचालयसहित १२ वटा लज कोठा, रेस्टुरेन्ट, कफी सप र बसपार्क व्यवस्थापन कार्यालय निर्माण गरिएको छ।
बाहिरी क्षेत्रमा ३८ वटा ठुला बस र १८ वटा जिप पार्किङ गर्न सकिने व्यवस्था गरिएको छ। साथै ८० हजार लिटर क्षमताको पानी तथा अग्नि नियन्त्रण ट्याङ्की र छुट्टै सार्वजनिक शौचालयसमेत निर्माण गरिएको छ।
निर्माण ठेक्का बिल्कोइ–गीताञ्जली जेभी :
बसपार्क निर्माणमा लागत अनुमान ३३ करोड ७० लाख ४७ हजार रुपया थियो । प्रारम्भिक ठेक्का २५ करोड ४१ लाख ६७ हजार, परिमार्जित ठेक्का २४ करोड ९१ लाख ३ हजार रहेको थियो । कुल खर्च २४ करोड ८६ लाख ९ हजार रुपैयाँमा ठेक्का सकारिएको थियो
२०७८ असार ३० गते सम्झौता भएको आयोजनाको निर्माण २०८१ असारभित्र सम्पन्न गर्ने लक्ष्य थियो। तर उच्च अदालत विराटनगरको अन्तरिम आदेशका कारण निर्माण केही समय रोकिएपछि दुई चरणमा गरी ९ महिना म्याद थप गरिएको थियो। अन्ततः २०८१ चैत मसान्तमा निर्माण सम्पन्न भएको थियो । बसपार्क पटक पटक सर्ने मिती तय भए पनि विविध कारणले उद्घाटन हुन सकेको थिएन ।