औजार : आजको औजार दैनिकमा “कानेपोखरीका लिम्बु परिवारको हत्या गर्ने गुल्मीबाट पक्राउ” शीर्षकको समाचार छापिएको छ । मोरङको कानेपोखरी ५ बाह्रबिगे राईटोलका ३ जनाको हत्या गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । गुल्मीमा प्रहरीले ३ जनाको हत्या गर्ने हत्यारालाई पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका ३ हर्राचौरमा झण्डै १५ दिन पहिले बेवारिसे अवस्थामा फेला परेका ३ वटा शवको पहिचानसँगै हत्यारा सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय गुल्मीले शुक्रबार पत्रकार सम्मेलन गरेर बेवारिसे शवको पहिचान र हत्या गर्ने हत्यारालाई सर्वजनिक गरेको छ । हत्यामा संलग्न बाग्लुङको गल्कोट नगरपालिका ८ ज्यामिरे बस्ने ४६ वर्षीय माधव सुनारलाई सार्वजनिक गरेको छ । अन्य एकजना फरार रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी एसपी राजेन्द्रसिंह खड्काले बताए । कात्तिक १६ गते शनिबार बेवारिसे अवस्थामा फेला परेको शवको हत्यारा पक्रउ परेसँगै पहिचान भएको हो । हत्या हुनेहरुमा मोरङ जिल्लाको कानेपोखरी गाउँपालिका ५ घर भई हाल पोखरा महानगरपालिका बस्दै आएकी ३२ वर्षीया सरिता भन्ने शिवमाया लिम्बु र उनका ७ वर्षीया जुम्ल्याहा छोरी गंगा र जमुना रहेको प्रहरीले सार्वजनिक गरेको छ ।

ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “सरकारको लापरबाहीले सीमा अतिक्रमण” शीर्षकको समाचार छापिएको छ । दशगजा सुरक्षामा सरकारले लापरबाही गर्दा हरेक वर्ष सीमा अतिक्रमणको समस्या भोग्नुपरेको विर्तामोडमा आयोजित एक कार्यक्रमका वक्ताले बताएका छन् । दशगजा –नो मेन ल्याण्ड) को प्रभावकारी संरक्षणमा नेपालले बेवास्ता गरेकोले सीमा अतिक्रमण भइरहेको उनीहरुको आरोप छ । अन्तर्राष्ट्रिय प्रचलननुसार नो मेन ल्याण्ड मा कुनै पनि देशले भौतिक संरचना निर्माण गर्न मिल्दैन मेची क्याम्पस भद्रपुरका प्राचार्य तथा सीमाविद चिन्तामणि दाहालले भने, नेपालको पूर्व पश्चिम र दक्षिणतर्फ सिमाना जोडिएको भारतले त्यहाँ सडक निर्माण गर्ने, बाँध बाध्ने, बस्ती बसाउने कार्य गर्दै आएको छ । त्यसको नियन्त्रणका लागि कुनै पनि सरकारले सक्रियता देखाएका छैनन् ।

कोशीपत्र : आजको कोशीपत्र दैनिकमा “धरानमा बसपार्क निर्माण हुने निश्चित” शीर्षकको समाचार छापिएको छ । विगत १८ वर्षदेखि विवादित बनेको धरान उपमहानगरपालिकाको बसपार्क निर्माण हुने भएको छ । स्थानीयसँगको विवादलाई उपमहानगरपालिकाले सम्बोधन गर्ने भएपछि प्रदेश र संघीय सरकारको बजेटबाट धरानमा बसपार्क निर्माण हुने निश्चित भएको छ । धरान बसपार्क साँघुरो भएको भन्दै धरान उपमहानगरपालिकाले २०५८ सालमा धरान ८ शुन्दरबस्तीमा बसपार्क सार्ने योजना अगाडि ल्याएको थियो । सो स्थानमा रहेको सर्वसाधारणको ३५ कठ्ठा जग्गा उपमहानगरपालिकाले आफ्नो स्वामित्वमा समेत ल्याईसकेको थियो । तर कर्मचारीहरुले अनियमितता गरेको भन्दै स्थानीयले विरोध गर्न थालेपछि बसपार्क योजना अलपत्र परेको थियो । पछिल्लो समय कर्मचारीको नाममा रहेको जग्गा अधिग्रहण गर्ने र प्रदेश र संघीय सरकारको बजेटबाट बसपार्क निर्माण गर्ने प्रक्रिया अघि बढेको छ ।