धरान:धरान उपमहानगरपालिकाले आगामी आर्थिक बर्षमा धरान ८ स्थित सभागृहलाई स्तरोन्नती गर्ने भएको छ । साथै, सभागृहस्थलमा खाली रहेको जग्गामा छुट्टै थिएटर हल पनि निर्माण गर्ने भएको छ ।

पाँचौं नगरसभाबाट पारित भएको नीति, कार्यक्रम तथा बजेटबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदीले यसको लागि अढाई करोड बजेट विनियोजन गरिएको जानकारी दिइन् । ‘धरानको गहना र गौरवकोरुपमा धराने सभागृहको स्तरोन्नतीसहित मर्मत सम्भार यसैबर्ष सम्पन्न गरिनेछ,’कार्यवाहक मेयरले भनिन्,‘कला, साहित्य, नाटक, गीत संगीतहरुको पनि विकासको लागि छुट्टै थिएटर हलको निर्माण थालिनेछ ।’ धरान सभागृहको अवस्था दयनीय छ । सिलिङ भत्किएको छ भने बस्ने कुर्सीहरु पनि अव्यवस्थित र भत्किएको छ । पंखा राम्रोसँग चल्दैन । उपमहानगरले हालको संरचनालाई नै स्तरोन्नति गर्ने जनाएको छ ।

पुर्वाधार महाशाखा प्रमुख एवं इञ्जिनियर सुरज श्रेष्ठका अनुसार सभागृहको भित्रको अवस्थालाई पुरै सुधार हुनेछ । ‘संरचना त्यही हुन्छ, तर छत फेछौं, कुर्सी फेछौं र एसि पनि हाल्छौं,’उनले भने,‘बाहिर पनि सौन्दर्यकरण गरेर आकर्षक बनाउछौं, जसरी पनि आउदो बर्ष पुरा गछौं ।’ भदौंदेखि असोजसम्म टेण्डर आह्वान गरेर चाडै काम शुरु गर्ने उनले बताए । उपमहानगरका अनुसार सभागृहको दक्षिणमा रहेको खाली जमिनमा थिएटर हल बन्नेछ । पहिलो चरणमा डिजाइनमा गरेर त्यसपछि थिएटर निर्माणको प्रक्रिया अघि बढ्ने श्रेष्ठले बताए । हाल त्यहाँ आइयुडिपीले सामानहरु राखेको छ । धरानका रंगकर्मीहरुले थिएटर हलको माग बषौंदेखि गर्दै आएका छन् ।

स्मार्ट बसपार्क, कोकाहमा कृत्रिम ताल

dharan-nagarsava

कार्यवाहक मेयर भण्डारीले धरानमा स्मार्ट बसपार्क निर्माणको कार्य शुरु गरी आगामी तीन बर्षभित्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य राखिएको पनि बताइन् । हाल प्रदेश सरकारको बजेटबाट डिपिआर तयार भएको उनको भनाई थियो ।

धरानका महत्वपुर्ण तथा गौरवको आयोजनाहरु जनपथ सडक, विजयपुर सडक, देशीलाइनजस्ता सडकलाई पनि आगामी आर्थिक बर्षभित्र निर्माण सम्पन्न गर्ने उनले बताइन् । यस्तै, ६ लेनको कोशी राजमार्ग वाइपास गरेर धरानभित्र मात्र ४ लेनको सडक विस्तारको लागि स्थानीयबासीसँग समन्वय भइरहेको पनि उनले बताइन् । ‘जनताको मन जित्न प्रयासरत छौं, कोशी हाइवे वाइपास गर्ने तर धरानभित्र ४ लेनको सडक बनाउने भनेर सहमति जुटाउन प्रयास भइरहेको छ,’उनले भनिन् ।

धरानको समस्याकोरुपमा रहेको खहरे करिडोर निर्माण गरेर दीर्घकालिन समाधान गर्ने र यातायात पुर्वाधार पनि विकास गर्ने उपमहानगरले जनाएको छ । यस्तै, तारा सुब्बा स्मृति पार्क, शिवमार्ग पार्क, विज्ञान पार्क, हेल्थ पार्क, माछाभौडी पार्क, वीपी पार्कलगायत एक वडामा एक पार्कको अवधारणा अघि बढाइने पनि कार्यवाहक मेयर भण्डारीले बताइन् । ‘कोकाह खोलामा कृत्रिम ताल निर्माण गरी पर्यटन प्रर्वद्धनमा जोड दिइनेछ । फुलबारी, पुष्प तथा वृक्षारोपणको माध्यमबाट नगर सौन्दर्यीकरणमा जोडदिइनेछ,’उनले भनिन्,‘धरानको चोकहरुलाई पनि सौन्र्दयीकरण तथा व्यवस्थापन गर्न भानुचोक, विजयपुर चोक, रेल्वे चोक र फुस्रे चोकलाई स्तारोन्नती गर्न बजेट विनियोजन गरिएको छ ।’

उपमहानगरले ज्येष्ठ नागरिकहरुलाई नक्कली दाँत लगाउनको लागि पनि बजेट विनियोजन गरिएको जनाएको छ । नक्कली दाँत सक्कली हाँसो कार्यक्रम आगामी बर्ष एउटा वडाबाट शुरु गरिने भण्डारीले बताइन् । यस्तै, धरानलाई शैक्षिक केन्द्र बनाउन नगर शिक्षा योजना निर्माण गरेर धरानको बहुसाँस्कृतिक तथा बहुजातिय धरोहारहरुलाई समेटेर स्थानीय पाठ्यक्रम तयार गरी सबै विद्यालयहरुमा लागु गर्ने पनि बताइन् ।

यस्तै, स्वर्गीय मेयर तारा सुब्बाको स्मृतिमा शिक्षा निकेतन माविमा ३ लाख रुपैयाको अक्षयकोष पनि स्थापना गर्ने उपमहानगरले जनाएकोछ । यो स्कुलमा स्वर्गीय मेयर सुब्बा अध्ययन गरेका थिए । साथै, धरान ४ हर्दियास्थित आधारभुत विद्यालयमा पनि स्वर्गीय यमबहादुर मगरको स्मृतिमा विद्यार्थी कल्याणको लागि एक लाखको अक्षयकोष स्थापना गरिने कार्यवाहक मेयर भण्डारीले बताइन् ।