- बासुदेव बराल
धरान : प्रदेशहरू अधिकार सम्पन्न नभएका कारण दलहरूलाई सरकार फेरबदलको खेल सजिलो भएको तथा प्रदेश सरकारहरू अस्थिर बनिरहेको, कोशी प्रदेशका प्रथम प्रमुख गोविन्द तुम्बाहाङले बताएका छन् ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई उनकै पार्टी अध्यक्ष केपी शर्मा ओली हटाउन खोज्दा उत्पन्न विवादको प्रसङ्गमा उनले भने ‘यसले प्रदेश सभामा भएका सबै दल नै बदनाम हुन सक्छ ।’ पुराना दलहरू सत्ताको खेलमा लागिरहने र अस्थिर सरकार बन्ने गरेको आरोपलाई यस्ता घटनाले पुष्टि गर्ने उनको भनाई छ ।
पूर्व प्रदेश प्रमुख तुम्बाहाङले भने ‘सरकारको नेतृत्व फेरबदल गर्ने भन्दा पनि दलहरूले प्रदेश बलियो बनाउन भूमिका खेल्नु सङ्घीयतालाई बलियो बनाउनका लागि जरुरी छ ।’ वर्तमान प्रदेश सरकार प्रमुखलाई परिवर्तन गर्ने खेलमा सत्तापक्ष नै लागेको कुराले जनतामा राम्रो सन्देश नजाने उनको भनाई छ ।
प्रदेश सरकारहरू आफै बलियो बन्ने, अधिकार प्राप्त गर्ने बाटोमा नलागेको बताउँदै तुम्बाहाङले भने ‘स्थानीय सरकारहरू प्रदेशलाई नटेर्ने, स्थानीय तहका कार्यकारीले प्रदेशलाई नचिन्ने भएकोले पनि प्रदेश निरीह बनिरहेको देखिन्छ ।’
पूर्व प्रदेश प्रमुखका अनुसार मुख्यमन्त्रीले एकजना पनि भ्रष्टाचारी र अपराधीलाई थुन्न सक्दैनन् । मान्छे पक्रिन र थुन्न परे प्रजिअलाई गुहार्नुपर्ने परिस्थिति छ । सत्ता मात्र भएर हुँदैन सँगसँगै शक्ति पनि चाहिने रहेछ ।
नगरपालिकाहरूको आफ्नै प्रहरी संरचना रहेको तर प्रदेशले भने आफ्नो प्रहरी संरचना समेत तयार गर्न नसकेको उनले बताए । तुम्बाहाङले भने ‘नेपालका स्थानीय तह आफूलाई सङ्घीय सरकार सरह सम्झने र प्रदेशलाई अटेर गर्ने गरेको देखिएको छ ।’
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेशले नै खटाउन पाउने हो भने केही शक्ति सन्तुलन हुन सक्ने उनले बताए । प्रदेशहरू शक्तिशाली बन्ने, आम्दानी वृद्धि गर्ने र आफ्नो निर्णय आफ्नै गर्न सक्ने हो भने केन्द्रीय सरकार र केन्द्रीय समितिहरूको हेपाहा प्रवृत्ति कम हुने पनि पूर्व प्रदेश प्रमुख तुम्बाहाङको भनाइ छ ।
कोशी लगायत बागमती र कर्णाली प्रदेशको सरकारको नेतृत्व परिवर्तन सम्बन्धी राजनीतिक गतिविधिले प्रदेशको स्थिरता र प्रतिष्ठा घट्ने र प्रदेशहरू अझै निरीह देखिने बताउँदै उनले चिन्ता व्यक्त गरे । तुम्बाहाङले भने ‘अहिले कोशी नेतृत्व हटाउँदा आम नागरिकमा सकारात्मक भन्दा पनि नकारात्मक सन्देश जाने निश्चित छ ।
मुलुकको पार्टी राजनीतिको प्रसङ्गमा तुम्बाहाङले नेपाली काँग्रेसको वर्तमान घटनाक्रम प्रति चिन्ता प्रकट गरे । अहिलेको विषम परिस्थितिमा काँग्रेस एक ढिक्का हुनुको विकल्प नभएको उनको भनाई छ ।








































































