धरान : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धरान उपमहानगरपालिकाका तत्कालीन प्रशासकीय अधिकृत गणेश प्रसाद खतिवडा सहित ८ जना विरुद्ध धरान १४ स्थित नरसिंह भगवान् मन्दिरको सार्वजनिक जग्गा गैरकानुनी रूपमा व्यक्तिको नाममा दर्ता गरी हिनामिना गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
मन्दिरको स्वामित्वमा रहेको १० कट्ठा ५ धुर सार्वजनिक जग्गा नक्कली जग्गाधनी खडा गरी तत्कालीन पुजारी टिरू चौधरीको नाममा दर्ता तथा नामसारी गराएको आरोपमा अख्तियारले मुद्दा दायर गरेको हो। उक्त जग्गाको न्यूनतम मूल्याङ्कन ३६ लाख १० हजार रुपैयाँ रहेको आयोगले जनाएको छ ।
मुद्दा प्रशासकीय अधिकृत खतिवडा सहित तत्कालीन सिङ्गिया गाविसका अध्यक्ष र सचिव कपिलमणि दाहाल, मालपोत कार्यालय सुनसरीका तत्कालीन अधिकृत सुशील वैध, शाखा अधिकृत तुङ्गनाथ भण्डारी, नायब सुब्बा केदारबहादुर कार्की, धरान–१४ का तत्कालीन वडा सचिव उत्तम आले, मन्दिरका पुजारी टिरू चौधरी र स्थानीय जग्गा कारोबारी पंकज घिमिरे विरुद्ध दायर गरिएको हो । अख्तियारका अनुसार तत्कालीन सिङ्गिया गाविस र धरान १४ बाट झुट्टा ब्यहोराको सर्जमिन मुचुल्का तयार गरी मन्दिरको जग्गा पुजारी चौधरीको नाममा नामसारी गर्न सिफारिस गरिएको थियो।
सोही सिफारिसका आधारमा मालपोत कार्यालय सुनसरीले २०६५ जेठ २१ गते सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गर्ने निर्णय गरेको आयोगको आरोप पत्रमा उल्लेख छ।
पुजारी चौधरी र जग्गा कारोबारी घिमिरेको मिलेमतोमा उक्त जग्गा बिक्रीसमेत गरिएको अख्तियारले जनाएको छ।
तत्कालीन गाविस सचिव कपिलमणि दाहालले जग्गा नामसारीमा सहयोग गरेबापत ५ हजार रुपैयाँ घुस लिएको समेत अनुसन्धानबाट खुलेको आयोगको दाबी छ।
आयोगले प्रतिवादीहरू विरुद्ध जनही ३६ लाख १० हजार रुपैयाँ बिगो कायम गरी कानुनबमोजिम सजायको माग दाबी गरेको छ। हाल उक्त जग्गा भागमैनी थरुनीको नाममा रहेको जनाउँदै अख्तियारले जग्गा जफत गरी पुनः नरसिंह भगवान् मन्दिरकै नाममा कायम गर्न विशेष अदालतसँग माग दाबी गरेको छ।
CCIA