धरान : धरान स्थित नरसिंह भगवान् मन्दिर संरक्षण समितिका अध्यक्ष टोमप्रसाद आचार्यले मन्दिरका जग्गा व्यक्तिका नाममा लैजानका लागि फर्जी कागजात बनाएको बताएका छन् ।

धरान-१४ दुई धारेमा दक्षिणतर्फ रहेको उक्त मन्दिरलाई धरानका आचार्य परिवारले दानमा दिएको हाल धरान-६ पानबारीमा ७ कट्ठा ११ धुर जग्गा छ । उक्त जग्गा हडप्न दलालहरूले फर्जी कागजात बनाएको अध्यक्ष आचार्यले बताएका हुन ।

उनका अनुसार फिल्डबुकमा लालबहादुर थापा मगरको नाम लेखिएको जग्गा कित्ता नम्बर १२४ छ, कित्ता नम्बर १२५ भने खाली छ । उनले भने ‘दलालहरूको मिलेमतोमा फर्जी कागजात बनाएर व्यक्तिका नाममा बनाएका हुन ।’

मन्दिर अध्यक्ष टोम प्रसादले सुरुमा वडाध्यक्ष भूपेन्द्र भट्टराई सहित मालपोत कार्यालय धरानका प्रमुख राजेश प्रसाद पोखरेलसँग छलफल गरेका थिए । वडाध्यक्ष भूपेन्द्रको भनाई उद्धृत गर्दै आचार्यले भने ‘अध्यक्षले मन्दिरको जग्गा रहेछ, म सिफारिस गर्दिन भनेका थिए ।’

आचार्यले भने ‘सबै प्रमाण मन्दिर व्यवस्थापन समितिसँग रहेको भन्दै भने मैले २०७५ साल देखि धनीपुर्जा बनाउन प्रक्रिया सुरु गरेको छु ।’ नक्कली जग्गा धनी भनिएका लालबहादुर मगरले पनि मन्दिरको जग्गा समेत भनिरहेको उनले उल्लेख गरे ।

उनको प्रश्न छ ‘हामीसँग नापी हुनुभन्दा अघिदेखिका प्रमाण छन्, वडाध्यक्षले के आधारमा र किन सिफारिस गरे ?’

वडाध्यक्ष भट्टराईले मेयर हर्क साम्पाङ सँगको छलफलमा प्रमाणका आधारमा कानुन विधि अनुसार सिफारिस गरेको दाबी गरेका थिए । तर, जो व्यक्तिलाई निवेदक बनाइएको छ । उनलाई ‘दलालले आफूलाई तिम्रो नाममा जग्गा छ भनी बताएका थिए भनी भनिरहेका छन् भने जग्गा उसैको हुन्छ ?’ भनी आचार्यले बताए ।

वडाध्यक्ष भट्टराईले छलफलमा सिफारिस नदिने भनेको र एक्कासि ब्लाष्टमा सूचना प्रकाशित भएपछि छक्क परेको बताउँदै भने, ‘मन्दिर नाममा ल्याऊ भएन भने सरकारको बनाऊ भनेको हो ।’

मालपोत कार्यालय धरानका प्रमुख राजेश प्रसाद पोखरेलले आफूसँग लालबहादुरले आफ्नै जग्गा भएको दाबी गर्दै भने ‘फेरी छलफल गराउँछु ।’ उनले सूचना निकालेको परिपक्व भएपछि सबै पक्षलाई बोलाउने छलफल गराउने बताए ।

अध्यक्ष आचार्यका अनुसार २०२७ असार ३ गते तत्कालीन कोष तहसिल कार्यालय सुनसरी इनरुवामा धरौटी रसिद पनि नरसिंह मन्दिरले नै रकम बुझाएको देखिएको छ । उक्त समयमा मन्दिरको जग्गा १३ कट्ठा थियो । सोही जग्गाबाट काटेर लालबहादुरलाई दिएपछि ७ कट्ठा १० धुर रहेको हो ।

गत माघमा नेपाल सरकारले छुट जग्गा दर्ता दुई वर्षभित्र आवेदन दिन सूचना प्रकाशित गरेको थियो । सूचनाका आधारमा तीन जनाले दाबी गरेका हुन । मन्दिर व्यवस्थापन समिति र धरान-८ की लक्ष्मीदेवी मगर्नीले समेत उक्त जग्गा आफ्नो बाजे लालबहादुर मगरको भएको दाबी गर्दै निवेदन दिएकी छन् ।

उनले २०७५ पुस १३ गते नै धरान ८ को वडा कार्यालयबाट सर्जमिन गर्दै आफ्नो बाजेको भएको दाबी गरेकी हुन् । सबै तथ्य प्रमाणले मन्दिरको जग्गा माफियाको मिलेमतोमा व्यक्तिको नाममा ल्याउन खोजिएको स्पष्ट हुने अध्यक्ष आचार्यको भनाई छ ।