धरान : धरान-१४ दुई धारे दक्षिण स्थित नरसिंह मन्दिरको धरान-६ पानबारीमा रहेको ७ कट्ठा १० धुर जग्गा जग्गा व्यक्तिको नाममा दर्ता गराउन मालपोत कार्यालय धरानले सूचना प्रकाशित गरेको छ ।

मन्दिरलाई आचार्य परिवार दान दिएको उक्त जग्गा व्यक्तिको नाममा दर्ता गर्न मालपोतले सूचना निकालेको देख्दा आफू आश्चर्यमा परेको नरसिंह भगवान् संरक्षक समितिका अध्यक्ष टोमप्रसाद आचार्यले बताए ।

उनले भने ‘यो कार्य मन्दिरको जग्गा व्यक्तिको नाममा दर्ता गर्न ल्याउन चलखेल हो ।’ उनका अनुसार मन्दिरलाई धरानका आचार्य परिवारले दानमा दिएको हाल धरान-६ पानबारीमा ७ कट्ठा १० धुर जग्गा छ ।

उक्त जग्गा व्यक्तिले नाममा दर्ता गराउन मालपोत कार्यालय धरानले निवेदन लिएर व्यक्तिको नाममा दर्ता गर्ने प्रक्रिया अघि बढाएको पाइएको उनले बताए । गत माघमा नेपाल सरकारले छुट जग्गा दर्ता दुई वर्षभित्र आवेदन दिन सूचना प्रकाशित गरेको थियो ।

सोही आधारमा मालपोत कार्यालयले धरान-६ का लालबहादुर थापा मगरले जग्गा आफ्नो भएको भन्दै दिएको निवेदनमा प्रक्रिया अघि बढाएको पाइएको छ।

मगरको निवेदनको आधारमा साबिक बाझगरा वडा नम्बर ३ क कित्ता नम्बर १२५ को ७ कट्ठा १० धुर जग्गामा लालबहादुर थापा मगरले दाबी गरेको भन्दै ३५ दिने सार्वजनिक सूचना मालपोत कार्यालयले प्रकाशित गरेको हो ।

अध्यक्ष आचार्यले भने ‘मालपोत कार्यालयले सूचना प्रकाशित गरेपछि मैले पनि जग्गाको दाबी गरेर निवेदन दिएको छु ।’ उनले वर्षौँ अघि आचार्य परिवारका बाबु बाजेले नरसिंह भगवानलाई दान दिएको जग्गा अहिले व्यक्ति-व्यक्ति मिलेर खान खोजिरहेको बताउँदै भने ‘हामी त्यसो हुन दिँदैनौ ।’

उनका अनुसार वर्षौँ देखी मन्दिरले नै त्यस जग्गाको कुत समेत बुझिरहेको छ । उक्त कुतबाट मन्दिरको पुजारीको भत्ता दिइरहेका छन् । उनले भने अन्य कुनै व्यक्तिको जग्गा हुन्थ्यो भने अहिलेसम्म दाबी गर्न किन कोही आएन ?’

नापी कार्यालयको फिल्डबुकमा कित्ता नम्बर १२५ को जग्गाधनी कैफियतको महलमा जग्गाधनी ‘लालबहादुर’ मात्रै लेखिएको छ । तर यसलाई प्रमाणित गर्न धरान वडा नम्बर ६ ले ‘लालबहादुर थापा मगर र ‘लालबहादुर’ एकै व्यक्ति भएको भनी प्रमाणित समेत गरिदिएको छ ।

यता धरान-८ की लक्ष्मीदेवी मगर्नीले समेत उक्त जग्गा आफ्नो बाजे लालबहादुर मगरको भएको दाबी गर्दै निवेदन दिएकी छन् । उनले २०७५ पुष १३ गते नै धरान ८ को वडा कार्यालयबाट सर्जमिन गर्दै आफ्नो बाजेको भएको दाबी गरेकी हुन् ।

नरसिंह भगवानको मन्दिरले जग्गाको वर्षौँदेखि कुत बुझिरहेको प्रमाण पनि कार्यालयमा पेस गरिएको छ । जग्गाका मोही भक्तबहादुरले २०४८ सालदेखि जोतभोग गरिरहेको दाबी गरेको छ । उनले मन्दिरका पुजारीलाई वार्षिक ५ हजार रुपैयाँ कुत बुझाएको बताएका छन्। भक्तबहादुरले भने, ‘मैले २०४८ सालदेखि जग्गा कमाइरहेको छु । वर्षको ५ हजार मन्दिरको पुजारीलाई दिइरहेको छु ।’ मालपोत कार्यालय धरानका प्रमुख राजेशप्रसाद पोखरेलले ३ जनाको दाबी आएको बताए । उनले भने, ‘आवश्यक प्रमाण हेरेर, छानबिन गरेर निर्णय हुन्छ ।’

बाटो दिए बापत मन्दिरलाई ६ लाख :

उक्त जग्गा नजिक २०७५ सालमा बाटो खोलिएको छ । त्यो बाटोको नाम नरसिंह पथ राखिएको छ । जग्गाको कारोबार गर्नेहरूले अन्य जग्गा प्लटिङ गर्न बाटो खोल्दा नरसिंह मन्दिरको करिब १० धुर जग्गा बाटोमा पारेका छन् ।

प्लटिङवालाले बाटोमा गएको १० धुर जग्गाको अरुण फाइनान्समा रहेको श्री नरसिंह भगवान् संरक्षक समिति धरानको खातामा घरजग्गा कारोबारी अर्जुनकुमार लिङ्थेपको नामबाट ६ लाख रुपैयाँ जम्मा गरिदिएको भौचरबाट देखिन्छ ।

लिङ्थेपका अनुसार २०७५ सालमा जग्गा प्लटिङ गर्दा बाटो निकाल्नु पर्ने भएकोले बाटो खोल्न जग्गावाला खोज्दै जाँदा मन्दिरको जग्गा भन्ने पत्ता लाग्यो । मन्दिरको समितिसँग सल्लाह गरेर पैसा जम्मा दिएको हो ।

वडाबाट झुटो सर्जिमिन :

धरान-६ वडा कार्यालयले जग्गामा हकदाबीका लागि झुठो सर्जमिन गरेको मन्दिर संरक्षण समितिले दाबी गरेको छ । मन्दिरले आफ्नो दाबी गरेको जग्गा भक्तबहादुर मगरले जोतभोग गरिरहेको छन् । मगरले बाजेका पालादेखि नै जग्गा जोतभोग गरिरहेको बताए ।

तर, वडा कार्यालयले गरेको सर्जमिनमा लालबहादुर थापा मगरले जोतभोग गरिरहेको उल्लेख गरिएको छ ।

यस विषयमा धरान-६ का वडाध्यक्ष भूपेन्द्र भट्टराईले सोही स्थानका छिमेकी रहेका पूर्व जनप्रतिनिधि पदमबहादुर कार्कीले पनि उक्त जग्गा लालबहादुरको जोतभोग गरेको बताएकाले सर्जमिन गरेको बताए ।

narasimhs-mandir

dharan-6-sarjiminDharan-8-wada-karyalamalpot-notice