धरान : धरान उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ को बजेटमा कार्यपालिका सदस्य कोषका नाममा ६० लाख रुपैयाँ विनियोजन गरेको छ ।
नगरको दीर्घकालीन विकास र प्राथमिकताका योजनामा पर्याप्त बजेटको आवश्यकता भइरहेका बेला कार्यपालिका सदस्यका नाममा स-साना तथा टुक्रे योजनामा रकम बाँडिएकोले यसलाई सबै रिझाउने चुनावी बजेट जस्तो देखिन्छ।
बिहीबार नगर सभामा कार्यवाहक नगर प्रमुख अइन्द्रविक्रम बेघाले कुल २ अर्ब ७६ करोड १९ लाख २७ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका थिए। सोही बजेटमा कार्यपालिका सदस्यहरू अनुप देवान, विकास भाटी र दिनेश गजमेरको कोषमा २०/२० लाख रुपैयाँका दरले कुल ६० लाख रुपैयाँ छुटाइएको हो।
धरान उपमहानगरपालिकामा वडाध्यक्ष बाहेक ६ जना कार्यपालिका सदस्य छन् । तीमध्ये तीन जना विषयगत समितिका संयोजक छन् भने तीन जना कार्यपालिका सदस्यका लागि छुट्टै कोषको व्यवस्था गरिएको छ। यसअघि आर्थिक वर्ष २०८२/८३ देखि कार्यपालिका सदस्य कोषका नाममा बजेट छुट्याउन थालिएको थियो। गत वर्ष पनि यस्तो कोषमा ४५ लाख रुपैयाँ विनियोजन गरिएको थियो।
यस वर्ष देवानको कोषबाट महिला लक्षित कार्यक्रम, हुर्रा नाच कार्यशाला तथा गोष्ठी, नेवार एकता समाज, पासाखल धरान, कोयङ्वा याक्खा समाज,जनजाति महासङ्घको विश्व भाषा दिवसलगायतका कार्यक्रममा १/१ लाख रुपैयाँ विनियोजन गरिएको छ।
त्यस्तै युवा लक्षित ड्राइभिङ तालिमका लागि २ लाख, अध्यक्ष कप फुटसल यू-१५ का लागि १ लाख ५० हजार, अरनिको मार्गमा सीसी क्यामेरा जडानका लागि १ लाख २५ हजार तथा विजयपुर खुला जिम, ज्येष्ठ नागरिक मञ्च र सुनुवार विद्यार्थी मञ्चलगायतका कार्यक्रमका लागि रकम छुटाइएको छ। देवानको कोषबाट कुल २० लाख रुपैयाँ विनियोजन गरिएको छ।
विकास भाटीको कोषअन्तर्गत गौतमपथ-कलेज रोडका सडक बत्तीका पोल रंगरोगन, सीसी क्यामेरा र क्रेजी स्नोकर टुर्नामेन्टका लागि २–२ लाख रुपैयाँ विनियोजन गरिएको छ।
सिलाइ–बुनाइ, ल्यापटप तथा प्रिन्टर सहयोग, विपन्न वर्गलाई शैक्षिक सामग्री तथा पोसाक वितरण, विद्युतीय सामग्री व्यवस्थापन, स्वास्थ्य शिविर, सडक नेमप्लेट स्ट्यान्ड खरिद, सडक चिह्न तथा ‘नो पार्किङ’बोर्ड खरिद, कीर्तन, नवरात्र र गौतम पथ झिलिमिली कार्यक्रमलगायतमा १-१ लाख रुपैयाँ छुटाइएको छ। भाटीको कोषबाट पनि २० लाख रुपैयाँ विनियोजन गरिएको छ।
दिनेश गजमेरको कोषबाट जलकन्या कालिका देवी मन्दिर झोडापाटामा पर्खाल तथा भूँई ढलानका लागि ३ लाख, सदन स्कुल खेलकुद मैदान स्तरोन्नतिका लागि २ लाख र दलित सेवा सङ्घमा भूँई ढलानका लागि ४ लाख रुपैयाँ छुटाइएको छ।
त्यस्तै नीराजन खोप केन्द्र, प्रदेशस्तरीय लोकनृत्यका लागि १ लाख ५० हजार, विजयपुर खुला जिमका लागि १ लाख, वडा नम्बर ३ मा युवा लक्षित कार्यक्रमका लागि ३ लाख, ज्येष्ठ नागरिक धार्मिक भ्रमणका लागि १ लाख, खेलाडी प्रोत्साहनका लागि ५० हजार, बान्धव पुस्तकालयका लागि १ लाख ५० हजार, दलित सर्वेक्षण तथा पुस्तक प्रकाशनका लागि १ लाख ५० हजार र सहिद स्मृति वडा स्तरीय महिला फुटसलका लागि ५० हजार रुपैयाँ विनियोजन गरिएको छ।
कार्यपालिका सदस्य कोषबाट छुटाइएको रकम अधिकांश ५० हजारदेखि ३ लाख रुपैयाँसम्मका साना योजनामा बाँडिएको छ। यसले नगरको स्पष्ट विकास खाका र दीर्घकालीन प्रभावभन्दा पनि राजनीतिक तथा व्यक्तिगत प्राथमिकताका आधारमा बजेट वितरण गरिएको हो कि भन्ने प्रश्न उठाएको छ।
नगरको समग्र विकासमा प्रत्यक्ष प्रभाव पार्ने ठुला योजनाका लागि पर्याप्त स्रोत व्यवस्थापन गर्नुपर्ने अवस्थामा कार्यपालिका सदस्यका नाममा छुट्टाछुट्टै कोष खडा गरेर रकम बाँड्ने प्रवृत्तिले बजेटको प्राथमिकतामाथि प्रश्न खडा गरेको छ।
अघिल्लो आर्थिक वर्षमा समेत कार्यपालिका सदस्य कोषमा ४५ लाख रुपैयाँ विनियोजन गरिएको थियो। तर उक्त रकमबाट नगरका लागि उल्लेख्य उपलब्धि देखिने योजना कार्यान्वयन हुन नसकेको आलोचना हुँदै आएको छ।
यस वर्ष पनि विभिन्न कार्यक्रम र सामग्री खरिदका नाममा रकम टुक्र्याएर विनियोजन गरिएको छ। आलोचकहरूले यसलाई ‘कनिका छरेजस्तै बजेट’ भन्दै नगरको दीर्घकालीन विकासभन्दा भागबण्डालाई प्राथमिकता दिएको टिप्पणी गरेका छन्। नगरको ठुलो बजेट साना-साना योजनामा छरिँदा त्यसको उपलब्धि मापन गर्नसमेत कठिन हुने देखिन्छ। विगतमा विनियोजन गरिएको कार्यपालिका सदस्य कोषको रकमबाट उल्लेख्य उपलब्धि देखाउन नसकेको अवस्थामा पुनः सोही प्रकृतिका योजनामा रकम छुटाइएको भन्दै प्रश्न उठेको छ।
यसैबिच धरान उपमहानगरपालिकाले नगर भिजन कोषका लागि ३ करोड रुपैयाँ विनियोजन गरेको छ। दीर्घकालीन योजनाका लागि नगर भिजन कोषमा करोडौँ रुपैयाँ राखिए पनि कार्यपालिका सदस्य कोषमा छुट्टाइएको ६० लाख रुपैयाँ भने चरालाई चारो कनिका छरे जस्तै साना-साना कार्यक्रममा छरिएको छ।







































































