धरानः ऐन अनुसार असार १० गते भित्र नगरसभा गरी पारित गरिसक्नु पर्ने आर्थिक वर्ष २९८३/०८४ को बजेट धरान उपमहानगरपालिकाले झन्डै डेढ महिना पछि आज बिहीबार मात्र पारित गरेको छ ।
कार्यवाहक प्रमुख अइन्द्रविक्रम बेघा र वडाध्यक्षहरू बिच लामो बहस र विवाद पछि सहमतिमा बोलाइएको नगरसभा नगरसभासदहरुको (वडासदस्य)को असन्तुष्टिका कारण निर्धारित समय भन्दा ३ घण्टा ढिलो भएको थियो ।
महिला वडासदस्यहरुले गत: शुक्रवार बोलाइएको नगरसभा ६ घण्टा पर्खाएर के कति कारण स्थगित भएको हो जानकारी नदिई स्थगित गरिएकोमा असन्तुष्टि जनाउँदै क्षमा याचना गर्न माग गरेकाले नगरसभा विलम्ब भएको हो । 
सभामा कार्यवाहक प्रमुख अइन्द्रबिक्रम बेघाले आर्थिक वर्ष ०८३/०८४को लागी कुल २ अर्ब ७६ करोड १९ लाख २७ हजारको बजेट प्रस्तुत गरे । उक्त बजेट अङ्क गत आर्थिक वर्ष ०८२/८३ को भन्दा ५१ करोड ११ लाख ४४ हजार बढी छ । आर्थिक वर्ष ०८२/८३ को बजेट अङ्क २ अर्ब २४ करोड ७ लाख ८३ हजार थियो ।
बजेटमा साधारण खर्च कार्यपालिका तर्फ २ अर्ब ४७ करोड ४८ लाख ३३ हजार र वडा कार्यालयतर्फ २८ करोड ७० लाख ९४ हजार रुपैयाँ विनियोजन गरिएको छ । 
बजेटमा २० वटै वडाका लागि प्रशासनिक, कार्यक्रम तथा पुँजीगत शीर्षकमा अघिल्लो वर्षको तुलनामा ५ करोड रुपैयाँ थप गरी २६ करोड रुपैयाँ कायम गरिएको छ । अघिल्लो वर्षको भुक्तानी बाँकीसमेत जोड्दा वडा कार्यालयतर्फ २८ करोड ७० लाख ९४ हजार रुपैयाँ विनियोजन गरिएको छ ।
nagrashabha
शहरी भौतिक पूर्वाधारमा ९९ करोड ५० लाख रुपैयाँ :
बजेटमा शहरी योजना तथा भौतिक पूर्वाधार विकासतर्फ ९९ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ। त्यसमध्ये खाल्डा खुल्डीमुक्त नगर कार्यक्रममा ४ करोड, भानुचोक सौन्दर्यीकरण, स्थायी स्टेज निर्माणमा १ करोड,धरान सभागृह निर्माणको लागि २ करोड रुपैयाँ छुटाइएको छ।
शिक्षा,खेलकुदमा ४९ करोड ८६ लाख  :
शिक्षा, युवा तथा खेलकुदमा ४९ करोड ८६ लाख ८२ हजार रुपैयाँ विनियोजन गरिएको छ। सङ्घ तथा प्रदेश सरकारको सशर्त अनुदान सहितको उक्त बजेटबाट शैक्षिक तथा खेलकुद कार्यक्रम सञ्चालन गरिने  छ। एउटा सामुदायिक विद्यालयलाई स्कुल बस उपलब्ध गराउने कार्यक्रम समेत बजेटमा समेटिएको छ।
धरान अस्पताल सञ्चालन गरिने  :
स्वास्थ्यतर्फ १२ करोड ४५ लाख रुपैयाँ विनियोजन गरिएको छ। सशर्त अनुदानबाट ९ करोड ३३ लाख, धरान अस्पताल सञ्चालनका लागि २ करोड र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्य गर्ने कार्यक्रमका लागि ५० लाख रुपैयाँ छुटाइएको छ।
सामाजिक विकासमा १० करोड :
सामाजिक विकासमा आन्तरिक स्रोतबाट १० करोड रुपैयाँ विनियोजन गरिएको छ। सुकुम्वासी व्यवस्थापनमा ५० लाख, सिटी सफारी तथा ट्याम्पो चालकको दुर्घटना सहयोग कोष २० लाख, सडक मानव व्यवस्थापन, खेलकुद,बाँदर नियन्त्रणमा १० लाख, विपन्न परिवारका सदस्यको दाहसंस्कारका साझेदारीमा १० लाख, लैङ्गिक समानता र समावेशीकरण कार्यक्रममा १ करोड ५ लाख बजेट छ ।
सङ्कटग्रस्त सहकारी व्यवस्थापनमा ५ करोड :
आर्थिक विकासमा  ६ करोड ८० लाख रुपैयाँ विनियोजन गरिएको छ। सङ्कटग्रस्त सहकारी व्यवस्थापनका लागि मात्रै ५ करोड रुपैयाँ छुटाइएको छ । उक्त बजेटकै विषयमा कावा प्रमुख र वडाध्यक्षबिच विवाद हुँदा नगरसभा नै स्थगित भएको थियो ।
बजेटमा कृषि, पशु, पर्यटन, उद्योग, उद्यम तथा रोजगारी सम्बन्धी कार्यक्रम पनि यसै शीर्षकमा सञ्चालन गरिनेछ ।
वन,वातावरण,ऊर्जा तथा विपद् व्यवस्थापनतर्फ ३ करोड ९५ लाख ७५ हजार :
वन, वातावरण, ऊर्जा तथा विपद् व्यवस्थापनतर्फ ३ करोड ९५ लाख ७५ हजार रुपैयाँ विनियोजन गरिएको छ। विपद् व्यवस्थापन कोषका लागि २ करोड रुपैयाँ छुटाइएको छ। बजेटमा कानुन तथा न्याय सम्पादन तर्फ आन्तरिक स्रोतबाट २० लाख विनियोजन भएको छ ।
खानेपानीमा ३ करोड ११ लाख :
धरानको खानेपानी आपूर्तिलाई भरपर्दो बनाउन चतरा कोशी नदीबाट पानी आपूर्ति गर्ने नेपाल सरकारको योजनामा साझेदारीका लागि ३ करोड ११ लाख रुपैयाँ आन्तरिक स्रोतबाट विनियोजन गरिएको छ।
बजेटमा राजश्व सुधार तथा संस्थागत क्षमता विकास र स्थलगत सूचना सकलन गर्न आन्तरिक स्रोतबाट पूर्ति हुने गरी ५३ लाख विनियोजन भएको छ । नगर भिजन तर्फ ३ करोडः
नगरको दीर्घकालीन सोचलाई परि लक्षित गर्दै विभिन्न कार्यक्रम सञ्चालन गर्न ३ करोड विनियोजन गरिएको छ ।
आयको अनुमान :
बजेटमा आयस्रोततर्फ आन्तरिक राजस्वबाट १ अर्ब ४० करोड ९४ लाख ८८ हजार रुपैयाँ, सङ्घीय सरकारको अनुदानबाट ८६ करोड १९ लाख रुपैयाँ, प्रदेश सरकारको अनुदानबाट ९ करोड १६ लाख ४८ हजार रुपैयाँ, राजस्व बाँडफाँटबाट ३२ करोड ८८ लाख ९१ हजार रुपैयाँ, सडक बोर्ड नेपालबाट १ करोड रुपैयाँ र गत वर्षको मौज्दातबाट ७ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । नयाँ बजेटले खानेपानी, पूर्वाधार, शिक्षा, स्वास्थ्य, पर्यटन र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको छ ।
nagar-sabha-dharan
nagar sabha1