धरान : धरान–८ भोटेपुलस्थित बजाज शोरुम अर्बिन ब्रदर्श अटोमा चेतकका दुई नयाँ विद्युतीय स्कुटर सी२५०१ र सी३५०३ विक्री वितरण सुरु गरिएको छ ।
बजाज अटो नेपालले आज बुधवार सार्वजनिक गरेको नयाँ विद्युतीय स्कुटर वरिष्ठ पत्रकार हर्ष सुब्बा र नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष सन्तोष काफ्लेले अनावरण गरे ।
अर्बिन ब्रदर्श अटोका सञ्चालक अर्बिन तामाङले दुई मोडलको बिक्री धरानबाट पनि सुरु भएको जानकारी दिँदै स्कुटर खरिदमा हंसराज हुलासचन्द फाइनान्सबाट फाइनान्स सुविधा पनि रहेको बताए । बजाज अटो र हंसराज हुलासचन्द एन्ड कम्पनी लिमिटेडको सहकार्यमा नेपालमा सार्वजनिक गरिएका यी दुई मोडल मध्ये २ दशमलव ५ किलोवाट घण्टा ब्याट्री रहेको सी २५०१ ले एक पटक चार्जमा ११३ किलोमिटरसम्म रेन्ज दिने बताइएको छ । स्कुटरले अधिकतम ६० किलोमिटर प्रतिघण्टा गति लिन सक्छ । सी २५०१ को मूल्य २ लाख ८१ हजार ९ सय रुपैयाँ तोकिएको छ ।
३ दशमलव ५ किलोवाट घण्टा ब्याट्री रहेको सी ३५०३ ले एक पटक चार्जमा १५१ किलोमिटरसम्म रेन्ज र अधिकतम ७० किलोमिटर प्रतिघण्टाको गति दिने कम्पनीले जनाएको छ । सी ३५०३ को मूल्य ३ लाख ३९ हजार ९ सय रुपैयाँ तोकिएको छ ।
दुवै स्कुटरमा एलसिडी डिस्प्ले, ब्लुटुथ कनेक्टिभिटी र सिटमुनि भण्डारणलगायतका सुविधा छन् । सी२५०१ छ रङ तथा सी३५०३ चार रङमा उपलब्ध रहेको बताइएको छ ।
हंसराज हुलासचन्द एण्ड कम्पनीका विक्री प्रमुख रामेश्वर घिमिरेका अनुसार पछिल्लो समय नेपालमा चेतकको विद्युतीय स्कुटरको विक्री बढेको छ, उत्साहजनक बजार विस्तारले बजाज अटोलाई नेपाली बजारमा नयाँ सुविधाका नयाँ मोडलहरू प्रस्तुत गर्ने हौसला प्रदान गरेको हो ।






































































