इटहरी : ''जङ्गलको बिचमा एक हुल मान्छे सलबलाई रहेका छन् । छेवैमा पिकअप गाडी र केही साइकलहरू रोकीएका छन् । टाढाबाट हेर्दा कुनै दु:खको काममा भेला भएजस्तो भान हुन्छ ।

नजिकै पुगेपछि तिनै मान्छेको बिचमा निगुरोको थुप्रो देखिन्छ । डोकोभरी निगुरो ल्याएर थुपार्ने क्रम जारी छ । त्यसैको एक छेउमा एक युवक नाम बोलाउँदै क्रमशः पैसा बाढीरहेका छन् । अर्को छेउमा अरू केही युवा निगुरोका मुठा गन्दै क्यारेटमा हालीरहेका छन् । मान्छे आउने र जाने क्रम चलीरहेको छ ।"

Niguro-1

पूर्वपश्चिम राजमार्ग अन्तरगत बेलबारी-पथरी सडक खण्डमा यस्ता धेरै दृश्यहरू देख्न सकिन्छ । कानेपोखरीदेखी ५ कि.मी. उत्तर जङ्गलको दृश्य हो यो । केही दिन अगाडी पानी परेपछि जङ्गलमा निगुरो पलाउन सुरु भएको छ । त्यससँगै धेरै मजदुरको पेट पाल्ने आशाको अङ्कुर पलाएको छ ।

त्यसै मध्येका एक हुन् समीर जोगी । बिहान भरी खोजेको निगुरो बिक्री गरेर घर जाने तरखरमा देखिन्छन् । ३० मुठा निगुरो बिक्री गरेर ३ सय २५ रुपैयाँ लिएका छन् । २५ रुपैयाँको दुई मुठाका दरले बिक्री गरे । सोही निगुरो बाहिर बजारमा ३० रुपैयाँ मुठा पर्छ ।

त्यहीँ पैसाबाट चामल किनेर लैजाने सुरमा छन् जोगी । सरकारले दिएको राहत सकिए पछि निगुरो खोज्न निस्किएको उनी बताउँछन् । लकडाउन भन्दा पहिला खोलामा बालुवा चालेर परिवार पाल्दै आएका उनी अहिले समस्यामा परेको सुनाउँछन् । निगुरोले केही दिनदेखी परिवार धान्न सहयोग गरिरहेको उनको भनाईछ ।
उनीजस्तै २ सय बढी मजदुर कानेपोखरीको जङ्गलमा निगुरो टिपेर जीविकोपार्जन गर्ने कोसिस गरीरहेका छन् । लेटाङ नगरपालिका-२ का कृष्ण भट्टराई पनि सोही जङ्गलमामा बिहान बिताउँछन् । केही नहुँनु भन्दा दुईचार पैसा आउने भएपछि निगुरो टिप्न थालेको उनको भनाई छ ।

त्यही पैसाले चामल दाल किन्ने सुरमा थिए उनी । दुई दिनमा ५ सय बराबरको बिक्री गरेको सुनाउने उनी काम नपाएपछि लकडाउनको सदुपयोग यसरी गरेको बताउँछन् । यसअघि सफारी चलाएर परिवार पाल्दै आएको र अब बिस्तारै भोकमरी लाग्ने भएपछि तनावमा छन् । नेपालीलाई कोरोनाले खासै असर नगर्ने विश्वासमा रहेका उनी भोकमरीले दु:ख देला भन्ने ठुलो पिरमा छन् ।

लामो समयको लकडाउनको कारण समस्यामा परेका मजदुरहरू लुकीछिपी जङ्गल जाने गरेको बताउँछन् । प्रहरीले देख्यो भने डोको खोसेर दु:ख दिने उनीहरूको भनाई छ । सरकारले वितरण गर्ने राहतले परिवार पाल्न मुस्किल भएपछि वैकल्पिक श्रोतको खोजीमा लागेका छन् । त्यसै क्रममा निगुरो एक अल्पकालीन विकल्पको रूपमा देखा परेको छ ।

निगुरो किन्ने मध्येका एक जोनी राईले प्रहरीले भेटे कारबाही गर्ने बताए । मिडियाबाट यस्तो कुरा बाहिर आउँदा आफूहरू समस्या पर्ने बताए । मजदुरको पनि उद्धार हुने र आफूहरूले पनि केही पैसा कमाई गर्न सकिने भएर निगुरो खरिद बिक्रीमा लगेको उनले बताइन् ।