धरान : धरान १ मा भारतबाट आएका युवालाई इटहरी स्थित जनता क्याम्पसको क्वारेनटाइनमा पठाउन तयारी गरिएको छ ।

धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले दिएको जानकारी अनुसार ती युवा भारतको विहार स्थित छपराबाट आएको खुलेको छ । गएराति उनी धरानको कृषि उपज बजारमा आँप ल्याएर आउने गाडीमा धरान आईपुगेका हुन् ।

उनको स्वास्थ्य परीक्षणको लागि बिहान बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना हेल्प डेस्कमा पुर्‍याएको थियो । त्यहाँ उनको हिस्ट्री चेकिङ र ज्वरो जाँच्ने काम भएको प्रमुख मेहेताले जानकारी दिए । उनलाई तत्कालै क्वारेनटाइनमा रेफर गरिएको भए पनि धरान १३ स्थित सैनिक आवसिय विद्यालयको हाता भित्र रहेको क्वारेनटाइनमा नराखिने भएको छ ।

त्यहाँ विद्यालय भवन मर्मत सम्भार गर्नुपर्ने भएकोले अव देखि सैनिक आवसिय महाविद्यालयको क्वारेनटाइनमा नराखिने बताइएको छ । त्यसैले आज भारतबाट आई पुगेका ती युवालाई इटहरी लाने तयारी भइरहेको छ ।
धरान उपमहानगरपालिकामा कोरोना परीक्षणका लागि आरडिटी परीक्षण गर्ने किट अभाव भएकोले उनलाई अहिले सम्म आरडिटी पनि परीक्षण नगरी राखिएको बताइएको छ ।

धरान उपमहानगरपालिकामा एउटा मात्रै किट रहेकोले अहिले उनको आरडिटी परीक्षण गर्ने तयारी भएको धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले जनाएको छ । उनको आरडिटी परीक्षण गर्दा पोजेटिभ आयो भने धरानमा थप परीक्षण गरेर प्रतिष्ठानको आइसोलेसनमा राख्ने र नेगेटिभ आए इटहरी स्थित जनता क्याम्पसको क्वारेनटाइनमा पठाइने प्रमुख मेहेताले जानकारी दिए ।