झापा :  सुनसरीको धरान स्थित बराह ज्वेलरी तथा अन्य विभिन्न स्थानमा कार्यरत ३० जना मजदुरहरू झापाको दमकमा अलपत्र परेका छन् ।

आज दिउसो करिब ३ बजे मोरङको सीमा पार गरेर झापा प्रवेश गर्नासाथ उनीहरूलाई ताराबारी ढाँटमा प्रहरीले रोकेको थियो । धरान उपमहानगरपालिकाको पास समेत रहेका उनीहरू भारतका विभिन्न सहर जान भनी प्रदेश १-०२-००१ ख ८०५८ नम्बरको बस रिजर्भ गरेर आएका थिए ।

यस विषयमा झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरसँग बुझ्दा समन्वय अभाव भएका कारण उनीहरूलाई रोकिएको बताएका छन् । उनीहरूलाई अलपत्र पर्न नदिन के गर्न सकिन्छ भन्ने विषयमा छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी राना मगरले जानकारी दिए ।