इटहरी : इटहरी उपमहानगरको सुत्केरी भेट कार्यक्रम लिएर उपमेयर लक्ष्मी गौतम सुत्केरीका घर घर पुगेकी छिन् ।

इटहरी १० कि मनीषा सदा,सुस्मिता चौधरी,निशा मगर र इटहरी ८ की सुगिया हरिजन र लीला सदाको घर पुगेकी हुन् । लकडाउनका वेला स्थानीय सरकार घरमै आएपछि सुत्केरी,उहाँका परिवार र स्थानीयवासी समेत खुसी भएका छन् । लकडाउनकै बिचमा यो समेत पाँच पटक गरी २७ जना सुत्केरीलाई भेटिसकेको उपमेयर गौतमले बताइन् ।

लकडाउनका कारण ज्यालादारी गर्ने श्रीमानले काम गर्न नपाएको र पाएको राहत पनि फारु फारु गरेर चलाउँदै आएका विपन्न सुत्केरीलाई भेटेर आमा बच्चालाई कपडा,दाल,चामल,गेडागुडी,तेल लगायतका खाद्यान्न उपलब्ध गराइएको हो । इटहरी अस्पतालमा सुत्केरी गराएका विपन्न वर्गका सुत्केरी महिलाका घर घरमा पुगेर सुत्केरी भेट कार्यक्रम अन्तर्गत कपडा र पौष्टिक आहारा उपलब्ध गराउने गरिएको छ ।

लक डाउनका समयमा इटहरी अस्पतालमा सुत्केरी गराउन आउनेको क्रम बढेको छ । सुनसरी र मोरङका विभिन्न ठाँउवाट इटहरी अस्पतालमा सुत्केरी गराउन आउने गरेका छन् । सुत्केरी भेट कार्यक्रम भने इटहरी भित्रका सुत्केरी महिलाहरूमा मात्र लागु हुदैआएको छ ।