धरान : सप्तरीमा मङ्गलवार फेरी १ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय सप्तरीले दिएको जानकारी अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सप्तरीको राजगढ गाउँपालिका २ का २० वर्षीय १ जना पुरुषमा कोरोना पुष्टि भएको हो ।  यो सँगै सप्तरी जिल्लामा मात्रै सङ्क्रमितको सङ्ख्या ५३ जना पुरुष र २ जना महिला सहित ५५ जना पुगेको स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियाँलाल यादवले बताएका छन् ।

३ दिन देखि स्वाब लिन बन्द
सप्तरी जिल्लामा तीन दिन देखि कोरोना परीक्षणका लागि स्वाब लिन बन्द गरिएको छ ।

प्रयोगशालाहरूले स्वाबको नमुना लिन नमानेपछि सप्तरीमा स्वाब लिन बन्द गरिएको स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियाँलाल यादवले बताए । अहिले जिल्ला भरी स्वाबको नमुना लिएर तुरुन्त कोरोना परीक्षण हुनुपर्ने आवाज उठी रहेको भए पनि स्वाब लिएर परीक्षणका लागि पठाउँदा ल्याबहरूले लिन नमान्दा ठुलो समस्या भएको छ ।

क्वारेनटाइनमा बसेकाहरूको स्वाब तुरुन्त लिएर उनीहरूको स्वास्थ्य परीक्षण गर्नुपर्ने माग उठी रहेको बेला सप्तरीमा स्वाब लिन रोक्नुपरेको प्रमुख यादवले बताए ।