धरान : इटहरी उपमहानगरमा लकडाउनलाई प्रभावकारी ढङ्गले पालना गर्दै जनजीवनलाई पनि सामान्य बनाउँदै लाने निर्णय गरिएको छ ।

बुधवार नगरप्रमुख द्वारीकलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले शैक्षिक संस्थाहरू र तोकिएका व्यापार व्यवसाय बाहेक अन्य व्यापार व्यवसाय बिहान १० सम्म खुल्ला गर्ने निर्णय गरिएको छ ।

लकडाउन वन्दावन्दीको समय लामो अवधि हुँदै जाँदा व्यापार व्यवसाय ठप्प भएको हुँदा दैनिक जनजीवन कष्टकर हुँदै गएको अवस्थालाई मध्यनजर गर्दै जनप्रतिनिधि,उद्योग वाणिज्य सङ्घ र प्रहरी प्रशासन सहभागी बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले लकडाउनका वेला खोल्न नपाइने तोकेर अन्य व्यापार व्यवसाय प्रतिष्ठान बिहान १० बजे सम्म खोल्ने निर्णय गरेको हो । क्याम्पस,विद्यालय लगायतका सबै प्रकारका शैक्षिक संस्था,तालिम तथा प्रशिक्षण केन्द्रहरू,खाद्यवस्तु बिक्री गर्ने व्यावसायिक मल,सिनेमा हल,पार्टी प्यालेस,फन पार्क लगायतका सार्वजनिक स्थलहरू वन्दनै रहने निर्णय गरेको छ ।

यस्तै रङ्गशाला,खेलकुद स्थल, फुटसल, शारीरिक सुगठन गर्ने स्थल जिम खाना, फिटनेस सेन्टर, डान्स सेन्टर, सैलुन र ब्युटी पार्लर, ,होटेल बार रेष्टुरेण्टहरु बन्द रहने छन् । सार्वजनिक जमघट, धार्मिक स्थलहरू, मन्दिर,गुम्बा, मश्चिद चर्च गुरुद्धार लगायतमा हुने भेला एवं धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू गर्न पाइने छैन ।

स्थानीय प्रशासन वाट पास पाएका बाहेकका सबै प्रकारका यात्रुवाहक सवारी साधनहरू समेत सञ्चालन गर्न पाइने छैन । यी बाहेकका अन्य व्यापार व्यवसाय बिहान १० बजेसम्म सञ्चालन गर्न पाइने छ । जोखिम अझै कायमै रहेका कारण सामाजिक दुरीलाई कडाइका साथ पालना गरेर तोकिएको समयसम्म मात्र व्यापार व्यवसाय सञ्चालन गर्न इटहरी उपमहानगरले अनुरोध गरेको छ ।