धरान : धरान १५ मा रहेको स्विमिङ पुल पछाडि रहेको नरबहादुर श्रेष्ठको घरमा लागेको आगो नियन्त्रणमा आएको छ ।

बिहीबार बिहान भएको आगलागीमा परि नरबहादुर श्रेष्ठको आमा ८७ वर्षीय धनकुमारी श्रेष्ठ र बहिनी ५८ वर्षीय बोल्न नसक्ने सीता श्रेष्ठको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

आगलागी हुनुको मुख्य कारण अझै खुल्न नसके पनि स्थानीयका अनुसार ग्याँस लिक भएर आगलागी भएको भन्ने अनुमान गरिएको छ । आगलागी हुँदा बोल्न नसक्ने छोरी लिन भित्र जाँदा आमा छोरी दुबै जना आगोमा जलेको स्थानियबासीहरुले बताएका छन् ।

एक तला गाह्रो लगाएको र अर्को तला काठले बनेको दुई तले घर जलेर पुर्णरुपमा नष्ट भएको छ । मृतक दुवै जनाको शव घरको तलामाथि जलेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

मृतक दुवै जनाको शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिने इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिएका छन् । आगलागीको मानवीय क्षति बाहेकको अरू विवरण आई सकेको छैन ।

Aglagi-3 Aglagi-4 Aglagi-5