धरान : धरान उपमहानगरपालिकाका मेयर तिलक राईले आवश्यकता अनुसार पसल खोल्नुपर्ने बताएपछि अनावश्यक पसल समेत खोलेर भिडभाड गर्नेको संङख्या बढ्न थालेको छ ।

धरान उपमहानगरपालिकाले लकडाउन खुकुलो पार्न सहजीकरण गर्न सुरु गरेपछि धरानको बजारमा चहलपहल ह्वात्तै सुरु भएको हो । सर्वसाधारणले स्वतस्फूर्त भएर बजार खोल्न थालेपछि मेयर तिलक राईले आवश्यक पसल मात्र खोल्नु पर्ने बताएका थिए ।

सुनसरी उद्योग वाणिज्य सङ्घले तयार पारेको बजार खोल्ने मोडालिटी प्रस्ताव पत्र अनुसार उपमहानगरले पसल खोल्न सहजिकरण गरेको थियो । तर अही खोलिएका पसलहरू अनावश्यक रहेको देखिन्छ । मापदण्ड विपरीत खोलेका बजार हस्तक्षेप गर्नका लागि एउटा टिम तयार गर्न  मेयर-उपमेयर मौन रहेका छन् ।

सर्वसाधारणले निजी सवारी साधन प्रयोग गर्ने क्रम बुधवारदेखि जारी रहे सँगै भिडभाडको चाप बढ्दो देखिन्छ । मास्क ,सेनिटाइज र सामाजिक दुरी कायम गरिएको दृश्य बजारमा देखिदैन् ।drn-bajar 2

उपप्रमुख मञ्जु भण्डारीले भने पसल खोल्ने क्रममा कसैलाई काखा पाखा नगरिएको र सामाजिक दुरी र सुरक्षा संयन्त्रलाई मध्यनजर गरिनुपर्ने बताएकी छिन् । यता मेयर राईले भने अन्य जिल्लाको जस्तो संक्रमण नफैलिएकाले दुइतिन दिन अवस्था हेरेर नागरिक समाजको इच्छा अनुसार नै निर्णय भएको बताएका छन् ।

जेठ १९ गते सुनसरी उद्योग वाणिज्य सङ्घका विभिन्न वस्तुगत सङ्घका प्रतिनिधिसँगको छलफल कार्यक्रममा मेयर राईले कोभिड १९ सँग सतर्क रही सुरक्षाका मापदण्ड अपनाएर आवश्यकता अनुसार व्यवसाय सञ्चालन गर्नुपर्ने र त्यसका लागि वाणिज्य सङ्घको सहभागितामा एउटा टिम तयार गरी मोडेल तयार गर्ने पनि बताएका थिए । तर  २४ गते पुग्दा पनि टिम परिचालन छैन ।

सुनसरी उद्योग वाणिज्य सङ्घले तयार पारेको बजार खोल्ने मोडालिटी प्रस्ताव पत्रमा बजारमा १४ देखि ५९ वर्षसम्मका स्वास्थ्य व्यक्तिले मात्र प्रवेश पाउनु पर्ने भन्ने छ ।

पसललाई २ तहमा वर्गीकरण गरी प्रस्तुत गरेको सो मोडालिटीमा “बजारलाई तीन तहमा वर्गीकरण गर्नुपर्ने, बिग्रने सामान बिक्री गरिने पसललाई बिहान ६ देखि ९ बजेसम्म र नबिग्रने वस्तुको पसललाई दिउसो ११ देखि ४ बजेसम्म खोलिनु पर्ने उल्लेख छ ।

मोटरसाइकल जोर बिजोर नम्बरमा चलाउनु पर्ने र धरान बजार छिर्ने नाकाहरूमा सुरक्षा चेकपोस्ट स्थापना गरिनुपर्ने लगायतका बुँदाहरू उल्लेख गरिएको थियो ।