धरान : रुकुम पश्चिममा मारिएका जाजकरकोटका नवराज विकलाई सरकारले मरणोपरान्त पुरस्कृत गर्ने भएको छ । रुकुम पश्चिमको सेतिमा मारिएका विकलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०७६ सालको भगत सर्वजित मानव मर्यादा पुरस्कारअन्तर्गत समाज सुधार अभियानतर्फ उनलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

गत जेठ १० गते साथीहरुसहित रुकुम पश्चिममा पुगेका विकसहित ६ जनाको स्थानियहरुबाट हत्या गरिएको थियो । समाज सुधार, सामाजिक न्याय, समता तथा दलित मुक्ति आन्दोलनमा योगदान गरेका भगत सर्वजित विश्वकर्माको कदरस्वरुप सरकारले २०७३ सालबाट यो पुरस्कार प्रदान गर्न थालेको थियो ।

नवराजलाई मन्त्रालयले २०७६ सालको भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कारका लागि छनोट गरिएको प्रबक्ता रुद्रसिंह तामाङले निकालेको विज्ञप्तिमा उल्लेख छ। यो पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको छ ।paper

यो वर्ष समाज सुधारतर्फ नवराज विक, मानवअधिकारतर्फ तनहुँका त्रिभुवनचन्द्र वाग्ले र सिप, कला शिक्षा, साहित्य लेखन तथा अनुसन्धानतर्फ बाँकेका तिलक परियारलाई पुरस्कृत गर्ने निर्णय मन्त्रालयले गरेको हो ।