धरान : धरानमा बन्दै गरेको प्रादेशिक नाटक घरको फस्ट फेसको पहिलो चरणको काम ७० प्रतिशत पुरा भएको छ ।

धरान ८ सभागृहको हाता भित्र बन्दै गरेको नाटक घर निर्माणका लागि दिन रात गरी २ सिफ्टमा काम तीव्र गतिमा गरिँदै छ । दिउसोको सिफ्टमा ४०,४५ जना रातिको सिफ्टमा २०,२५ जनाले नियमित काम गरिरहेको नाटक घर निर्माणको जिम्मा लिएको निशान निर्माण सेवाका सुपरभाइजर किशोर फुर्कुटीले बताए । उनका अनुसार हप्ता दिन भित्र यही गतिमा काम भएमा फस्ट फेसको टाइविम लेबल सम्मको काम पुरा हुनेछ ।

धरानका रङ्गकर्मीहरू नाटक घर नहुँदा विभिन्न ठाउको सभाहलहरुमा नाटक मञ्चन गर्नुपर्ने बाध्यता थियो । तर अव व्यवस्थित नाटक घर बन्ने भएपछि धरानका रङ्गकर्मीहरूले व्यवस्थित नाटक घरमा नाटक मञ्चन गर्न सक्ने भएको रङ्गकर्मी दीपेन्द्रसिंह दर्नालले बताए । आर्थिक वर्षको अन्तिम भएकोले बजेट फ्रिज हुने भएकोले राती र दिउसो गरी दुई सिफ्टमा काम गर्नुपर्ने अवस्था आएको नाटक घर निर्माण उपभोक्ता समितिका सदस्य हिमाल दाहालले बताए ।

धरान उपमहानगरपालिकाले धरान ८ सभागृह क्षेत्रमा २ कट्ठा जग्गा अत्याधुनिक नाटक घर निर्माणको लागि उपलब्ध गराएको छ । चालु आर्थिक वर्षमा सांसद जयकुमार राईले नाटक घरको लागि ४० लाख बजेट विनियोजन गरिदिए पछि अहिले सोही बजेटबाट निर्माण कार्य सुरु भएको हो ।

निर्माण समितिका संयोजक एवं अग्रज कलाकार प्रेम सुब्बाका अनुसार धरान उपमहानगरपालिकाले पनि केही बजेट छुट्ट्याइदिएको बताए । ‘प्रदेश सरकार र केन्द्रीय सरकारबाट पनि बजेट ल्याउन पहल हुनेछ । नाटक घरका लागि काम निरन्तर हुनेछ भने तीन वर्षभित्र नाटक घर निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको संयोजक सुब्बाले बताए । उनका अनुसार ‘डिपिआर पनि तयार भइसकेको छ ।

भवन ५ करोड र इन्टेरियर डिजाइनको पाटो करिब ३ करोड लागत अनुमान गरिएको छ ।’ अहिले सम्म पहिलो फेसको पहिलो चरणका काम लगभग ७० प्रतिशत पुरा भएको पनि उनले बताए । सङ्घीय सांसद जयकुमार राईले विनियोजन गरेको बजेट सँगै उपभोक्ता समितिबाट गरी करिब ४८ लाख बराबरको काम हुने सुब्बाले बताए ।

धरानमा नाटक घर बनाउने भन्ने कुरा थियो । धेरै ठाउँमा जग्गा खोजियो अन्तिममा आएर सभागृह हाता भित्र निर्माण गर्ने टुङ्गो लागे पछि अहिले आर्थिक अवस्थाको अन्तिममा भएकोले विनियोजन भएको बजेट फ्रिज हुने डरले रात दिन काम भइरहेको बताइएको छ ।

नाटक घर निर्माण सुरु भएपछि अहिले धरानका रङ्गकर्मीहरू र राजनीतिक दलहरूको दैनिक उपस्थिति निकै राम्रो नाटक घर निर्माण स्थलमा हुन थालेको छ ।

Natak-Ghar-1