धरान : लकडाउनको अवधिमा घरभाडा छुट दिएका धरानका घरधनिहरुलाई सुनसरी उद्योग वाणिज्य सङ्घले सम्मान गरेको छ ।

लकडाउन सुरु भएको चैत महिना देखि उद्योग व्यवसायीलाई परेको समस्यालाई मध्यनजर गर्दै घरभाडा छुट गर्ने घरधनीहरूलाई सुनसरी उद्योग वाणिज्य सङ्घले सोमबार सम्मान गरेको हो ।

लकडाउनको अवधिमा ४५ दिन भन्दा माथि ९० दिनसम्म घरभाडा छुट दिने करिब ४१ जनालाई सम्मान गरिएको सङ्घका अध्यक्ष गिरिधारी सापकोटाले जानकारी दिए । सङ्घका द्वितीय अध्यक्ष अनिल अग्रवाल संयोजक रहेको सो कार्यक्रममा घरधनीका तर्फबाट प्रभुप्रसाद श्रेष्ठले “घरधनीले घरबहाल छुट दिए झैँ उपनगरपालिकाले पनि करमा छुट दिनुपर्ने” बताएका थिए ।

सम्मान कार्यक्रममा प्रमुख अतिथि धरानका मेयर तिलक राईले स्वघोषित रूपमा घरधनीले घरभाडा छुट दिएकोमा खुसी व्यक्त गरेका थिए । कार्यक्रममा उपप्रमुख मञ्जु भण्डारी सङ्घका सदस्यहरू, पूर्व अध्यक्ष र व्यवसायीहरू लगायतका उपस्थिति रहेको थियो ।

सुनसरी उद्योग वाणिज्य सङ्घका महासचिव राजेश अग्रवालले सञ्चालन गरेको उक्त कार्यक्रममा अध्यक्ष गिरिधारी सापकोटाले लकडाउनको कारण पर्यटन, उद्योग, यातायात व्यवसायी र स्थानीय व्यवसायीहरू मारमा परेको र मनकारी घरधनीहरूले गरेको यो कार्यप्रति सम्पूर्ण व्यवसायीको तर्फबाट आभार प्रकट गरेका थिए ।