धरान : धरानको खेलकुदलाई अगाडी बढाउन बजेट विनियोजन गर्नुपर्ने माग गर्दे नेपाली काँग्रेस खेलकुद क्षेत्र समन्वय समिति धरानले आज धरान उपमहानगरपालिकाका मेयर तिलक राईलाई ज्ञापन पत्र बुझाएको छ ।

“धरान खेलकुदको शहर” को रूपमा धरान उपमहानगरपालिकाद्वारा घोषणा गरिनुपर्ने र यसलाई विधिवत् रूपमा सञ्चालन गर्न सबै खेल विधालाई सम्बोधन हुने गरी समावेशी विधान निर्माण गरिनुपर्ने, २१ औ शताब्दीमा स्पोर्ट इज बिजनेसको लक्ष्य लिई समय खेलकुदको विकास तथा खेलाडी र खेल कर्मीको जीवन यापनलाई सहज र सरल बनाउन व्यवसायीकरणलाई जोड दिने, खेल सङ्घको सक्रियतामा पदक जित्न सक्ने सम्भावित खेलकुदलाई पहिचान गरी प्राथमिकताका साथ प्रशिक्षण एवं प्रशिक्षण र प्रतियोगिताको व्यवस्था गर्नुपर्ने ज्ञापन पत्रमा उल्लेख छ ।

यसै गरी धरानलाई खेलकुद क्षेत्रबाट राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा चिनाउने व्यक्तित्वहरूको अभिलेख सहितको स्पोर्टस् पार्क बनाउने । साथै स्पोर्टस् एकेडेमी सञ्चालन गर्ने, विधागत उत्कृष्ट वर्ष खेलाडी र उत्कृष्ट महिला वर्ष खेलाडी र एक जना सर्वोत्कृष्ट महिला धरान वर्ष खेलाडी घोषणा गरी वर्ष खेलाडीका रूपमा पुरस्कृत गर्ने र समग्र खेलबाट एक जना सर्वोत्कृष्ट धरान वर्ष खेलाडी घोषणा गरी पुरस्कृत गर्ने मा गरिएको छ ।

खेलकुद क्षेत्रलाई नगरपालिकाको अभिन्न अङ्गको रूपमा स्थापित गरी समग्र खेलकुदको विकासको निम्ति समावेशी बजेट विनियोजन गरी कार्यान्वयन गर्ने तथा अनुगमन गर्ने, हाल धरान उपमहानगरपालिकाको स्वामित्व, जिल्ला खेलकुद विकास समिति, स्कुल, कलेज, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, सङ्घ संस्था तथा क्लबहरूको स्वामित्वमा रहेको खेलकुदका पुराना भौतिक संरचनाहरूलाई मर्मत, स्तरोन्नति गर्न सम्बन्धित खेल सङ्घ तथा सङ्घ संस्थासँग छलफल गरी ठोस कार्य योजनाका साथ भौतिक संरचनाको स्तरोन्नति गर्ने ।

नयाँ भौतिक संरचना निर्माण गर्न धरान उपमहानगरबाट आवश्यक बजेट विनियोजित गर्नुका साथै भौतिक संरचना निर्माणका प्रस्ताव प्रदेश सरकार र सङ्घीय सरकार समक्ष पेस गर्ने । वैदेशिक सहयोग प्राप्त हुन सक्ने दाताहरूसँग सहकार्य एवं सहयोगको लागि पहल गर्ने पनि ज्ञापन पत्रमा माग गरिएको छ ।

लामो समय देखि स्वयंसेवक प्रशिक्षणका रूपमा रहेको प्रशिक्षकहरूलाई उनीहरूको नियमितता, क्षमता र योगदानको मूल्याङ्कन गरी नगरपालिकाको करार प्रशिक्षकमा नियुक्त गर्ने , .प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता, मिस्टर धरान शारीरिक सुगठन प्रतियोगिता लगायत धरानमा विगत वर्षदेखि सञ्चालित खेल प्रतियोगिताहरूलाई समयअनुसार बजेट निर्धारण गरी निरन्तरता दिनुपर्ने पनि माग गरिएको छ ।

यसै गरी विगत लामो समयदेखि सञ्चालित राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रदेश, जिल्ला तथा स्थानीय प्रतियोगिताहरू जस्तै बुढासुब्बा, गोल्ड कप, वीपी कोइराला मेमोरियल अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता, होराइजन बास्केटबल प्रतियोगिता, प्रदेश नं. १ स्तरीय ब्याडमिन्टन प्रतियोगिता, गोधुली कप, तरुण बक्सिङ, धरान ओपन ब्याडमिन्टन च्याम्पियनसिप, बुढासुब्बा बडी बिल्डिङ राष्ट्रिय प्रतियोगिता, राष्ट्रिय जुनियर टेबुल टेनिस प्रतियोगिता, सूर्य नेपाल गल्फ, मेयर कप खुल्ला साइक्लिङ प्रतियोगिता, जिल्ला स्तरीय महिला बास्केटबल प्रतियोगिता आदिलाई समयानुकूल थप बजेट विनियोजन गर्ने तथा सम्पूर्ण खेल सङ्घलाई वार्षिक कार्य योजना बनाउन लगाई आवश्यक बजेट विनियोजन गरी कार्यान्वयनका साथै प्रभावकारी अनुगमनको व्यवस्था गर्नुपर्ने, धरान उपमहानगरपालिका भित्र कुनै पनि खेल प्रतियोगिता सम्पन्न गर्दा आवश्यक प्राविधिक अनुमति प्राप्त निर्णायक तथा प्रशिक्षणहरूलाई मात्र परिचालन गरी खेलकुद लाई मर्यादित, व्यावसायिक एवं रोजगारीको अवसर सिर्जना गर्ने ज्ञापन पत्रमा उल्लेख गरी माग गरिएको छ ।

नेपाली काँग्रेस खेलकुद क्षेत्र समन्वय समिति धरानका संयोजक किशोर राई सहितको टोलीले धरान उपमहानगरपालिकामा पुगेर मेयर तिलक राईलाई ११ बुँदे माग सहितको ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्र बुझ्दै मेयर तिलक राईले पनि सो मागको सम्बन्धमा आफू सकारात्मक रहेको बताएका थिए ।

Nc-1

Nc-3 Nc-2