इटहरी : इटहरी उपमहानगरपालिकाले रुख बिरुवा रोप्ने कामलाई कार्यक्रम तथा बजेटमा प्राथमिकता दिएको छ । हरित नगरीको भनेर समेत चिनिँदै आएको इटहरीले आगामी आर्थिक वर्षमा एक लाख बिरुवा रोप्ने देखि नयाँ घर बनाउँदा अनिवार्य बिरुवा रोप्नु पर्ने नियम लगाउने भएको छ ।

बढ्दो सहरीकरणका साथै सघन बस्ती विकाश उद्योगधन्दा व्यापार व्यवसायमा बढोत्तरी बहेको जनाउँदै इटहरीले वातावरणको क्षेत्रमा नीतिगत रूपमै वातावरणको विषय उठाएको हो । प्रत्येक सडक निर्माण गर्दा सडकको दुवै किनारामा वृक्षारोपण गर्ने र त्यसरी रोपिएको बिरुवा स्थानीय उपभोक्तालाई संरक्षण गर्ने जिम्मेवारी दिने नीतिलाई कार्यान्वयन गरिने बजेटमा उल्लेख गरिएको छ ।

बजेटमा 'प्रत्येक नयाँ घर निर्माण गर्दा तीन वटा बिरुवा रोप्ने र तिनको संरक्षणको नीतिलाई कडाइका साथ लागु गरिएको छ।' प्रत्येक वडाका सडक किनारा तथा खाली जमिनमा आगामी आर्थिक वर्षमा कम्तीमा एकलाख बिरुवा रोप्ने र संरक्षण गर्ने उपप्रमुख लक्ष्मी गौतमले बताइन ।

कार्यक्रममा भनिएको छ 'वृक्षारोपण गर्दा औषधीजन्य र फलफूल सँग सम्बन्धित बिरुवाहरू लगाउन प्रोत्साहित गरिने छ । आगामी वर्ष विगतमा रोपिएका बिरुवा गोडमेल र गणना गर्न वृक्ष गणना वर्षको कार्यक्रम सञ्चालन गरिने छ ।'