धरान : प्रदेश एकमा भएका छुट्टा छुट्टै घटनामा ३ जनाको मृत्यु भएको छ ।

ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका- ८ सेतीदेवी स्थित सिद्धिचरण राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । काठमाण्डौबाट रड बोकेर सोलुको बेनी तर्फ जाँदै गरेको बा ३ ख ९६ नम्बरको ट्रक आज बिहान साँढे ४ बजे उक्त स्थानमा अचानक दुर्घटना हुँदा ट्रक चालक दोलखा जिरी नगरपालिका ४ का २५ वर्षीय नवराज कार्कीको घटनास्थलमा नै मृत्यु भएको छ । सो घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

यसै गरी यता सुनसरीको बराहक्षेत्र नगरपालिका- ११ मा निगुरो टिप्न गएका एक जनाको लडेर मृत्यु भएको छ ।
बराहक्षेत्र नगरपालिका ११ का २८ वर्षीय सञ्जीव मेहेताको लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । आज बिहान ६ बजे साथीहरूसँगै कोसी किनारामा निगुरो टिप्न गएकोमा चिप्लिएर कोसीको पानीमा खस्दा घाइते भएका मेहेतालाई सँगै गएका साथीहरूले तत्काल उद्धार गरी उपचारको लागी गोल्डेन अस्पताल विराटनगर पठाएकोमा उपचारको क्रममा बिहान ८ बजे मृत्यु भएको बताइएको छ ।

यसै गरी भोजपुरको पौवादुम्बा गाउँपालिका -३ का १८ वर्षीय दिवस राईको खेसाङ खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।

हिजो बुधवार अपरान्ह ५ बजे खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको भन्ने खबर प्राप्त भएसङै इलाका प्रहरी कार्यालय तिवारी भञ्याङबाट प्रहरी टोली खटी गई कानुनी प्रक्रिया तथा अन्य थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।