धरान : धरान उपमहानगरपालिकाको गएको असार १० गते स्थगित भएको सातौँ नगर सभा तोकिएको मिति भोलि नहुने भएपछि नगर सभा अझै अनिश्चित भएको छ ।

असार २६ गते पुन नगर सभा हुने भनेर स्थगित भएको सातौँ नगर सभा हुनु पूर्व बस्नुपर्ने कार्यपालिका बैठक भोलि २ बजेका लागि तोकिएको छ । तोकिएको मितिमा स्थगित नगर सभा पुन हुने सुरसार नदेखिएपछि नेकपाको संसदीय दलको बैठक बिहीबार साँझ बस्यो । यो बैठकले विभिन्न सञ्चार माध्यमहरूमा आएको मेयर तिलक राईको नाममा देखिएको २ लाख ८१ हजार बेरुजुको भोलि हुने कार्यपालिकाको बैठकको पहिलो एजेण्डाकोरुपमा लाने निर्णय भएको स्रोतले बताएको छ ।

तोकिएको मितिमा स्थगित भएको नगर सभा पुन सञ्चालन हुन नसक्नु र मेयरको नाममा बेरुजु आएको कुरा संञ्चारमाध्यमहरुमा समाचार आएकोले नेकपा पक्षका कार्यपालिका सदस्यहरूले भोलिको कार्यपालिका बैठकमा जोडदार कुरा उठाउने नेकपाको संसदीय दलको निर्णय भएको हो ।

स्थगित भएको नगर सभा पुन तोकिएकै दिन किन हुन सकेन ? भन्ने प्रश्नमा धरान उपमहानगरपालिकाका मेयर तिलक राईले भने “ धरान उपमहानगरका विभिन्न वडाहरूमा पठाइएको बजेटको सुची अहिले सम्म केही वडाहरूबाट आउन अझै बाकी रहेकोले भोलि २ बजे सम्ममा आउने र कार्यपालिका बैठक बसी स्थगित भएको नगर सभा कहिले गर्ने भन्ने बारेमा निर्णय हुने छ ।”

भोलिको कार्यपालिकाको बैठकले अव अस्ति स्थगित सातौँ नगर सभा कहिले र काहा गर्ने भन्ने बारेमा टुङ्गो लगाउने मेयर राईले बताए ।