पथरी : मोरङको पथरी-डायनीया सडक खण्डमा अत्यधिक भार वहनका ट्रिफर चलेसँगै यहाँको सडक भत्किएको छ ।

सडक भत्किएसँगै पथरी डायनिया क्षेत्रका बासिन्दामा आवात जावत गर्ने समस्या भएको स्थानीय बासिन्दाले बताएका छन् । सडक भत्किएसँगै सो सडक खण्डका कतिपय स्थानमा एम्बुलेन्स समेत चलाउन समस्या भएको भन्दै स्थानीयवासीले पथरीशनिश्चरे ५ र ६ को सिमानामा पर्ने कोशेलीचौकमा वासको ढाट लगाएका छन् ।

२८ किलोमिटर रहेको सो सडक खण्डले पथरीशनिश्चरे र सुनवर्षीलाई जोडने गरेको छ । सो सडकको अधिकांश भागको पिच भत्किएर खाल्डा परेका छन् । प्रत्येक वर्ष वर्षायाम सुरु नहुँदै यो सडक भत्किने र खाल्डा पर्ने गरेको छ । लकडाउनका कारण सार्वजनिक बसहरू संन्चालन नभए पनि निर्माण सामग्री ढुवानी गर्ने हाइवा (ठुला टिफर) हरुले बाटोको जीर्ण बनाएको स्थानीय रमेश कार्की बताउँछन् ।

सडकमा भएका खाल्डा पुर्न पटक पटक पथरीशनिश्चरेको ५ र ६ नम्बर वडामा जानकारी गराएको भए पनि वडा कार्यालयले बेवास्ता गरेको कार्की बताउँछन् ।

सो सडक खण्ड निर्माणका लागी वडा कार्यालयमा भएको बजेट अपुग हुने भएकाले सो सडक बनाउन प्रदेश र केन्द्र स्तरबाट पहल थालिनु पथरीशनिश्चरे वडा नं. ५ का अध्यक्ष जोग बहादुर धिमालले बताउँछन् । असार १० गते सम्पन्न नगरसभाले पनि सो सडक मर्मतका लागि योजना पास गरेको तर कति बजेट भनेर नतोकेको धिमालले जानकारी दिए ।

बुधवार मात्रै पथरीशनिश्चरे नगरका प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियर सहितको टोलीले बाटोको अनुगमन गरेको छ ।

सडक पुनर्निर्माणका लागी भत्किएको ठाउँको पिच भत्काएर मर्मत गरिन लागेको वडा नम्बर ६ का अध्यक्ष जय बहादुर तामाङले जानकारी दिए । यही सडकमा अघिल्लो वर्षपनि स्थानीयले धान रोपेर विरोध जनाएका थिए ।