पथरी : ओखलढुङ्गा मोलुङ २ लामिडाँडाकी सुनिता दर्जी उमेरले १७ पुगिन् । लाउलाउ खाउखाउको उमेर मै दुवै मिर्गौलाले काम गर्न छोडेपछि जीवन र मरणको दोसाँधमा छिन सुनिता ।

छोरीको उपचारमा भएको जेथा सबै सकिए पनि छोरी निको नभएपछि भोज बहादुर र गीता छोरीको जीवन कसरी बचाउने भन्ने तनाव थपिएको छ । भोजबहादुरलाई भेट गर्ने जोकोहि सामु पनि उनी गहभरी आँसु पारेर आफ्नो दुखेसो पोख्छन् ‘भगवानले गरिबलाई मात्रै किन यसरी पिडा दिन्छ’ ?

उमेरले पाका भएका दर्जी दम्पती यति बेला कसरी घर चलाउने र छोरीको उपचार कसरी गर्ने भन्ने समस्याको जालोमा बाँधिएका छन् । सुनिताको परिवारमा भएका ५ दिदी बहिनी मध्ये उनीकी दिदीको पनि मिर्गौला रोगकै कारण मृत्यु भइसकेको छ । दिदीको उपचारमै श्री सम्पत्ति सकेका दर्जी दम्पतीलाई थप पिडा थपेको छ परिवारकै अर्का सदस्यको मिर्गौला रोगले ।

सुनिताको उपचार हाल काठमाडौँको त्रिभुवन शिक्षण अस्पतालमा भइरहेको छ । सुनिताको उपचार गर्दा गर्दै भएको जेथा सकिएपछि त्यहाँका स्थानीयवासीले पनि दर्जीलाई सहयोग गरे तर त्यत्तिले मात्र सुनिताको उपचार सम्भव भएन । दर्जी भन्छन् ‘डाक्टरले छोरीका जीवन बचाउन अब तपाईँहरूको मिर्गौला प्रत्यारोपण गर्नुपर्छ भनेका छन्’् ‘हामी छोरीलाई मिर्गौला दिन तयार छौँ तर मिर्गौला प्रत्यारोपणमा लाग्ने पैसा कहाँबाट जुटाउने ?

सुनितालाई मिर्गौला प्रत्यारोपण गर्न १० देखि १२ लाख आवश्यक पर्छ । घरबाट त्यत्तिको रकम जुटाउने हैसियत छैन । सुनिताको उपचारकालागी विभिन्न समाजीक संस्था र समाजसेवीले सहयोग नगरेका पनि होइनन् तर त्यो सहयोग अपर्याप्त भएको परिवारले बताएको छ ।

सुनिताको चाहना छ पुर्नजिवन पाएर समाजका लागी केही गर्ने । उनको सहयोगका लागी ९८६३९१७२२८मा सम्पर्क गरेर सहयोग गर्न परिवारले आग्रह गरेको छ ।