धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ आइसोलेसनबाट आज ८ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार आज निको भएर डिस्चार्ज हुनेहरूमा सुनसरीका ४ जना, उदयपुरका ४ जना मध्ये २ महिला सहित २ बर्षकी बालिका सहित ७० वर्ष उमेर समूहका रहेका छन् ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यो सँगै अहिले सम्म २ सय ८१ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेको प्रतिष्ठानले जनाएको छ । यसै गरी अहिले सम्म बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मात्रै १५ हजार ३९ वटा स्याम्पलको पिसिआर परीक्षण भएको पनि प्रतिष्ठानले जनाएको छ । अहिले प्रतिष्ठानको कोभिड १९ आइसोलेसनमा २९ जना कोरोना संक्रमित उपचाररत रहेका छन् ।

यसै गरी आज धरान उपमहानगरपालिकाका ३६ कर्मचारी सहित होम, होटेल र एन्फा क्वारेनटाइनमा बसेका ५४ जनाको स्वाब लिइएको छ । ५४ जना मध्ये १३ नम्बर वडाका कोरोना संक्रमित सँग क्लोज कनट्र्याक्ट रहेका १२ जनाको पनि स्वाब लिइएको छ ।

आज स्वाब लिइएकामा प्रहरी र नेपाली सेना पनि रहेको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले जानकारी दिएका छन् ।