धरान : धरान उपमहानगरपालिकाले गरेको निर्णयको विरुद्धमा आज धरानका ट्याम्पो चालकहरू धरान उपमहानगरपालिकामा भेला भएर मेयरको ध्यानाकर्षण गरेका छन् ।

ट्याम्पो व्यावसायीहरुले आफूहरूलाई धरान उपमहानगरपालिकाले धरान बाहिर जान र बाहिरबाट आउन नदिने निर्णय गरेकोले आफूहरूलाई समस्या भएको भन्दै उपमहानगर अगाडी ट्याम्पो लिएर आएका थिए । आफूहरूलाई धरान बाहिर जान नदिने र सीमित मात्रै यात्रु बोक्न भनिएको तर यात्रुवाहक बसहरू पूर्वका विभिन्न जिल्ला र सहरहरू सम्म पुग्ने र आउने गरेको भन्दै आफूहरूले पनि यात्रुवाहक बस जस्तै सेवा दिन पाउनुपर्ने माग गरेका थिए ।

ट्याम्पो व्यावसायीहरुसंगको छलफलमा यात्रुवाहक बस र ट्याम्पोमा कुनै विभेद नगरिएको र कोरोनाको जोखिम न्यूनीकरणका लागि यस्तो निर्णय गर्न बाध्य भएको धरान उपमहानगरपालिकाका मेयर तिलक राईले उनीहरूलाई सम्झाएका थिए । यो विषम परिस्थितिमा उपमहानगरपालिकाले गरेको निर्णयमा सहयोग गर्न ट्याम्पो व्यवसायीहरुलई आग्रह गरेको मेयर राईले बताए ।

धरान उपमहानगरपालिकाको सर्वदलीय बैठकले यात्रुवाहक बसहरूले सरकारले तोकेको स्वास्थ्य मापदण्ड पुरा गरेर सञ्चालन गर्नुपर्ने र तीन पाङ्ग्रे सवारीहरू ट्याम्पो र सिटी सफारीले धरान उपमहानगर क्षेत्र देखि बाहिर जान नपाउने र बाहिरबाट पनि आउन नपाउने निर्णय गरेको थियो ।

यो निर्णयको विरोध गर्दै धरान उपमहानगरमा ट्याम्पो सहित आइपुगेका ट्याम्पो व्यावसायीहरुले पनि मेयर र धरान उपमहानगरको निर्णयमा सहमत जनाएका छन् । धरानमा कोरोना सङ्क्रमणको जोखिम बढ्दै गइरहेकोले अवस्था हेरेर फेरी निर्णय गरिने सहमति भएको बताइएको छ ।