धरान : १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरमा फेरी सात जना प्रहरीमा कोरोना पुष्टि भएको छ । यो सँगै प्रदेश प्रहरी कार्यालयमा कार्यरत कोरोना सङ्क्रमितको सङ्ख्या ३२ पुगेको छ ।

थप विराटनगरमा सात प्रहरी सहित थप १५ जना कोरोना संक्रमित थपिएको विराटनगर महानगरपालिकाले जनाएको छ । कोसी अस्पताल विराटनगरमा परीक्षण गर्दा प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत सात प्रहरी कर्मचारी सहित १५ जना संक्रमित थपिएका विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिएका छन् । सङ्क्रमितहरू विराटनगर महानगरपालिका वडा नं. ६ र ७ का हुन् ।

त्यस्तै कोसी अस्पताल विराटनगरमा कार्यरत दुई जना र विराट मेडिकल कलेजमा कार्यरत एक जना पुरुष कर्मचारीमा पनि कोरोना सङ्क्रमण देखिएको छ ।

यसै गरी सप्तरीमा हिजो दुई स्वास्थ्यकर्मी सहित थप २७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । गजेन्द्रनारायण सिंह अस्पतालको आकस्मिक कक्षमा कार्यरत दुई जना स्वास्थ्यकर्मीको पीसीआर परीक्षण गर्दा कोरोना रिपोट पोजेटिभ आएको स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियाँलाल यादवले जानकारी दिएका छन् ।
यसै गरी तिलाठी कोईलाडी गाउँपालिका–२ लौनियाका २५ जना नयाँ संक्रमित थपिएका छन् । सप्तरी जिल्लामा कोरोना संक्रमित हुनेको सङ्ख्या ५ सय २४ पुगेको छ ।