धरान : धरानमा आज थप २ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

आज थपिएकोमा हिजो कोरोना संक्रमित भएका धरान-१५ का ४३ वर्षीय पुरुष र धरान १ का २० वर्षीय पुरुषमा पनि कोरोना सङ्क्रमण भएको पाइएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले जानकारी दिएका छन् ।

यसैगरी अर्को एक जना धरान १८ ठेगाना लेखिएको ४० वर्षीय पुरुषमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको बताइएको छ । उनको धरान १८ ठेगाना लेखिए पनि जितपुर बाराबाट बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि आएको स्वास्थ्य महाशाखा प्रमुख मेहेताले बताए ।

आज सङ्क्रमण पुष्टि भएका धरान १ का पनि धरान १३ कै कोरोना सङ्क्रमितको कनट्र्याक्ट ट्रेसिङको क्रममा पुष्टि भएको बताइएको छ । अर्को धरान १५ का सङ्क्रमितको दाजुमा हिजो कोरोना पुष्टि भएको थियो । उनी धरान-८ स्थिति प्रीति भल्भ एन्ड फिटिङ्स् इन्डस्ट्री प्रा.ली.मा कार्यरत रहेका थिए । आज थपिएका सँगै धरानमा कोरोना सङ्क्रमितको सङ्ख्या २८ पुगेको छ ।

दुहबीमा ४ र इटहरीमा पनि १ जना संक्रमित थपिए

सुनसरीको दुहबी नगरपालिकाको कर्मचारी सहित ४ जनामा पनि कोरोना पुष्टि भएको छ । दुहबीमा स्वाब सङ्कलन गरी विपी कोइराला स्वास्थ्य विज्ञान धरानमा परीक्षण गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएको दुहबी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विन्देशर प्रसाद महतोले जानकारी दिएका छन् ।

दुहबी नगरपालिकाका ५३ वर्षीय एक कर्मचारी र वडा नम्बर ४ र ५ का ३ जना संक्रमित २४,३३ र ६० वर्षीय अरू संक्रमित रहेका छन् । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य शाखा प्रमुख महतोले बताए ।
यसै गरी हिजो साँझ इटहरी ५ का एक जनामा पनि कोरोना पुष्टि भएको छ । उनी काठ मिस्त्री रहेको बताइएको छ ।