धरान : धरान १५ को सेन्ट्रल रोडको एउटै घरका दुई दाजुभाइमा कोरोना सङ्क्रमण पुष्टि भएपछि धरान १५ को सेन्ट्रल रोड अहिले सिल गरिएको छ ।

धरान १५ का वडाध्यक्ष नरेश इङवारामले दिएको जानकारी अनुसार धरान १५ पिण्डेश्वर चोकदेखि उत्तर र एभरेष्टलाइनमा पर्ने दन्तकाली चोकसम्मको सडकमा आवतजावत बन्द गरिएको छ । प्रहरी र स्थानीयवासीले आवत जावत बन्द गर्दै सो सडकमा बास तेर्स्याएर बाटो अवरुद्ध पारिएको छ । धरान ८ को प्रीति भल्भ एन्ड फिटिङ्स इन्डस्ट्री प्रा.ली.मा कार्यरत स्थानीय एक व्यक्तिलाई कोरोना पोजेटिभ पुष्टि भएको थियो । उनै सङ्क्रमितका भाइमा पनि आज कोरोना सङ्क्रमण देखिएपछि सेन्ट्रल रोडमा सिल गरिएको हो ।

त्यहाँका अरूमा पनि कोरोना सङ्क्रमण भएको हुनसक्ने भन्दै आज धरान १५ को प्रहरी चौकीबाट गएको प्रहरीले सिल गरेको हो । सोही रोड निवासी सङ्क्रमितका परिवार र सम्पर्कमा रहेका ७ जनालाई परीक्षणको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको वडाध्यक्ष नरेश इङ्वारामले बताए ।

धरानमा पछिल्लो समय कोरोनाको उच्च जोखिम बढ्यो । एउटै घरका २ जनामा कोरोना देखियो । समुदायमा रहेकामा कोरोना देखिनुले धरान १५ उच्च जोखिममा रहेकोले आज परीक्षणका लागि पठाइएकाहरूमा पनि कोरोना पुष्टि भयो भने धरान १५ नम्वरनै पुर्णरुपमा लकडाउन गर्ने अध्यक्ष इङवारामले बताए ।

धरानमा धरानबासीलाई कोरोनाबाट जोगाउनका लागि १५ दिन लकडाउन घोषणा गर्नुपर्नेमा ढिलो भएको बताउँदै नेकपा पक्षका वडाध्यक्षहरूको सहकार्यमा १५ वटा वडामा लकडाउन सम्म गर्ने की भनेर छलफल भइरहेको नेकपाका धरान उपमहानगरका प्रमुख सचेतक समेत रहेका वडाध्यक्ष इङवारामले बताए ।