धरान : धरानमा गएको साउन २२ गतेबाट जारी गरिएको लकडाउन आइतबारदेखि अझै कडा पारिने बताइएको छ ।

धरानमा खाद्यान्न, दूध र सब्जी बोक्ने गाडी धरान बाहिरबाट आउने भएकोले झन् कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै आइतबारदेखि धरानको प्रवेशद्वार तीनकुनेमै दूध, खाद्यान्न र तरकारी बोक्ने गाडीलाई प्रवेश गर्न नदिने धरान उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख विष्णु कोइरालाले बताए ।

धरानमा समुदायस्तरमै कोरोना फैलिरहेको बेलामा झन् बाहिरबाट धरानमा गाडी आउने र धरानका विभिन्न ठाउँमा घुम्ने भएकोले कोरोना सङ्क्रमणको उच्च जोखिम बढेकोले गर्दा यस्तो निर्णय गरेको प्रमुख कोइरालाले बताए । धरान भित्रै सर्वसाधारणको अटेरीपन र बढ्दो कोरोना सङ्क्रमणको कारण यस्तो निर्णयमा धरानका सुरक्षाकर्मी पुगेको उनले बताए ।

धरान हुँदै पहाडी जिल्लाहरूमा जाने सवारीहरूको हकमा भने तीनकुनेमा कहा जाने ? भन्ने बारेमा इन्ट्रि गरेपछि धरान भित्र कहीँ कतै रोक्न नपाउने गरी पहाडी क्षेत्रमा जान पाउनेछन् ।

आइतबारदेखि धरानमा आयात हुने मात्रै होइन कुनै पनि निकासी पनि धरानबाट नहुने गरी धरानको प्रवेशद्वार तीनकुनेमा कडाइ हुनेछ । सर्वसाधारणको आउजाउमा पनि कडाइ गरिनुको साथै धरान भित्र पनि सवारी साधन सञ्चालनमा कडाइ हुने बताइएको छ ।